काठमाडौं । आज एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक र प्रभु बैंकको लाभांश सुरक्ष्ँित गर्ने आज (बिहीबार) अन्तिम दिन हो ।
एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्दैछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै (बिहीबार) सेयरधनी बनिसक्नुपर्नेछ । एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ ।
त्यस्तै नेपाल बंगलादेश बैंकले पुस २६ गते बस्ने वार्षिक साधारण सभामा ६ प्रतिशत बोनस सेयर र कर सहित २.४२ प्रतिशत नगद गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसका लागि शुक्रबार (पुस १० गते) बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । साधारण सभा पुस २६ गते बिहान ११ः३० बजे भर्चुअल मध्यमबाट सुरु गर्ने बैंकले जनाएको छ ।
प्रभु बैंकको १९औं वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा पुस २६ गते बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ । प्रभुले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्दैछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै (बिहीबार) सेयरधनी बनिसक्नुपर्नेछ । कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ ।