काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ दोस्रो दिनसम्ममा ६ लाख ७२ हजार ४११ जनाले भरेका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार अपरान्ह साढे ४ बजेसम्ममा ती आवेदकहरुबाट १ करोड ९० लाख ८६ हजार ३४० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीले मंसिर २९ गते सोमवारदेखि सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको रू। ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । हाल कम्पनीमा संस्थापक तर्फको मात्र रू। १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।
छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरोशेयर एपमार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । उक्त कम्पनीको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।