काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र ज्योति लाइफ इन्स्योरेन्स आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
काठमाण्डौको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।
त्यस्तै ज्योति लाईफ इन्स्योरेन्सले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा मङ्सिर १९ गते आवेदन दिएको छ । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। ज्योति लाइफले २०७४ माघ १० गतेको साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।