Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएः अर्थ मन्त्रालय

कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएः अर्थ मन्त्रालय

दैनिकी न्यूज

२३, मंसिर २०७७
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएः अर्थ मन्त्रालय
images

काठमाडौं । कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ ।

अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये प्रमाणीकरण भएका कुनै बीमितको भुक्तानी नरोकिएको बताएका छन् ।

उनले प्रमाणीकरण भएका कसैको पनि बीमा भुक्तानी नरोक्न अर्थले निर्देशन दिएपछि सोमवारसम्म ७ हजार ३ सय ६८ ले प्रमाणीकरणपश्चात् भुक्तानी पाएको बताए । ४ हजार दाबीहरू प्रामाणीकरणको चरणमा रहेको र प्रमाणीकरण भएपछि उनीहरूले भुक्तानी पाउने आचार्यको भनाइ छ ।

आचार्यका अनुसार एकैफेर ठूलो संख्यामा दाबी पर्दा प्रमाणीकरणमा ढिलाइ हुन पुगेको हो । ‘बीमा भुक्तानीको पनि प्रक्रिया हुन्छ, प्रक्रिया नाघेर भुक्तानी दिन मिल्दैन, प्रक्रिया मिलाउँदा ढिला भएको हो,’ उनले भने ।

कतिपय दाबीहरूको प्रमाणीकरण स्वास्थ्य संस्थाबाटै गर्नुपर्ने भएकाले दाबी गरेका सबै बीमितले एकैफेर भुक्तानी पाउन नसकेको अर्थका अधिकारीहरूको भनाइ छ ।

अहिले दैनिकजसो भुक्तानीको विवरण बीमा समितिले अर्थलाई जानकारी दिने गरेको छ । अर्थका अनुसार नियामक निकायको रिपोर्टिङअनुसार दैनिक भुक्तानीको संख्या बढ्दो छ ।

बीमा भुक्तानीलाई ३ दिनभित्र सक्न पछिल्लो समय अर्थले गत बिहीवार निर्देशन दिएको थियो । यस्तै, प्रमाणीकरणसमेत सक्दो चाँडो टुंग्याउन पनि भनेको थियो । तर, मन्त्रालयको निर्देशनअनुसार प्रमाणीकरणको काम द्रुत गतिमा भएको छैन ।

बीमा कम्पनीहरूले बीमितहरूलाई प्रमाणीकरण नभएको कारण देखाउँदै भुक्तानीमा आनाकानी गरिरहेका छन् । कोरोना संक्रमित भएपछि सुनसरी घर भई हाल काठमाडौंमा बस्दै आएका वीरेन्द्रकुमार मेहताले कोरोना बीमाका लागि डेढ महीनाअघि बीमा कम्पनीमा भुक्तानीका लागि दाबी गरे पनि अहिलेसम्म पाएका छैनन् ।

पटकपटक बीमा कम्पनीमा धाए पनि उनले प्रमाणीकरणको क्रममा रहेको भन्दै जवाफ पाउने गरेको तर भुक्तानी भने लामो समयदेखि पाउन नसकेको बताए । उनीजस्तै अहिलेसम्म ३३ हजारले बीमाका लागि दाबी गरे पनि ७ हजारले मात्रै भुक्तानी पाएका छन् । तर, अर्थ मन्त्रालयका अधिकारीहरू भने सन्तोषजनक प्रगति भएको बताउँछन् ।
दैनिक २ सयदेखि ३ सय निवेदन मात्र प्रमाणीकरण हुने गरेको बीमा समितिलाई जानकारी आउने गरेको छ । यसले अभैm पनि ठूलो संख्यामा प्रमाणीकरण नभएकै कारण बीमितले कोरोना बीमाको भुक्तानी पाउन अभैm लामो समय कुर्नुपर्ने देखाएको छ ।

कोरोना बीमा मापदण्डमा आवश्यक कागजात पेश गरेको ७ दिनमै भुक्तानी दिनुपर्ने व्यवस्था छ । बीमा कम्पनीले भने त्यो मापदण्डको शुरूदेखि नै पालना गरेका छैनन् । अर्थ मन्त्रालयले यसअघि कात्तिक १८ मा पनि बीमा कम्पनीहरूलाई ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । त्यसयताको १ महीनामा करीब १७ सयले मात्र भुक्तानी पाएको बीमा समिति स्रोतले बतायो । बीमा कम्पनीले कोरोना बीमालेख विक्रीबापत ९८ करोड ६० लाख प्रिमियम संकलन गरेका थिए । तर, ३ अर्ब ४० करोड भुक्तानीका लागि दाबी परिसकेको बीमा समितिका अधिकारीहरूको भनाइ छ ।

यो खबर आजको आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - ०७:४९:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology