Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दुई सातामै १४ अर्ब कर्जा प्रवाह

दुई सातामै १४ अर्ब कर्जा प्रवाह

दैनिकी न्यूज

१७, मंसिर २०७७
दुई सातामै १४ अर्ब कर्जा प्रवाह
images

काठमाडौं । दशैं तिहारजस्ता प्रमुख चाडपर्व सकिएसँगै बैंकहरूको कर्जा लगानी उत्साहजनक देखिएको छ । मङ्सिर महीनाको २ सातामा कर्जा प्रवाह १४ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मङ्सिर दोस्रो सातासम्म कर्जा प्रवाह बढेर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

२७ ओटा वाणिज्य बैंकहरूबाट असारदेखि अहिलेसम्ममा भने १ खर्ब ६३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । गत असारसम्ममा यस्तो कर्जा कुल २९ खर्ब ३ अर्ब रुपैयाँमा सीमित थियो । कोभिडले गर्दा सीमित क्षेत्रमा मात्र कर्जा प्रवाह भएकोमा अहिले विभिन्न पूर्वाधारहरूको निर्माण कार्य तीव्र भएकाले उक्त क्षेत्रमा समेत कर्जा प्रवाह हुँदा समग्रमा उत्साहजनक देखिएको बैंकरहरू बताउँछन् । गत साउनमा रू। २५ अर्बले संकुचनमा आएको कर्जा लगानी भदौ, असोज, कात्तिक र मङ्सिरमा सुधार हुँदै आएको छ ।

गत साउनमा कर्जा लगानी संकुचनमा आएर २८ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित थियो । यसपछि भदौमा थप २६ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भयो । कात्तिकमा पनि थप १७ अर्ब प्रवाह हुँदा कुल कर्जा ३० खर्ब ५२ अर्ब रुपैयाँ पुगेको थियो ।

अहिले निर्माण क्षेत्र र जलविद्युत्का क्रियाकलाप बढिरहेको बताउँदै नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले भने, ‘कोभिडले सबैभन्दा बढी होटेल व्यवसायलाई असर परेको छ । तर, पर्यटकीय पूर्वाधार निर्माणमा कर्जा गएको छ ।’ बजारमा अपेक्षा गरेअनुसारको कर्जा माग नहुँदा रू। २ खर्बभन्दा बढी तरलता थुप्रिएको थियो । अहिले भने थोरै घटेर १ खर्ब ८० अर्बको अधिक तरलता रहेको अध्यक्ष दाहालले बताए ।

बजारमा कर्जा र निक्षेपको घटबढ हुनु स्वाभाविक हो । बजारमा अधिक तरलता हुँदा बैंकहरूले साधारण निक्षेपको ब्याजदर ह्वात्तै घटाएर २ प्रतिशतभन्दा कमसमेत तोकेका छन् । मूल्यवृद्धिभन्दा कम ब्याजदर निर्धारण गर्न नहुने भनिए पनि त्योभन्दा पनि कममा ब्याजदर ओलिएको छ । यसले निक्षेपकर्ताहरू निरुत्साहित हुनसक्ने राष्ट्र बैंकले औंल्याउँदै आएको छ ।

गत कात्तिकमा निक्षेप संकलन ६ अर्बले घटेर ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित भएको थियो । तर, मङ्सिर दोस्रो सातासम्म निक्षेप संकलन थप २७ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ७५ अर्ब पुगेको छ । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ०५:०८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology