काठमाडौं । शेयर बजारले फेरि पनि ऐतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पहिलो दिन आइतबार को कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।
गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि १८ दशमलव ७६ अंकले बढेर ३ सय ८३ दशमलव ९३ अंकमा बन्द भएको छ ।
कारोबार रकमले पनि अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । दिनभर २ सय कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिद विक्री भएको छ ।
पछिल्लो समय शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ ।
कारोबारमा आएका समूह मध्ये व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् । त्यस बाहेकका सबै समूह बढेका छन् । आइतबार लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् । बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंक मध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।
यो दिन जीवन बीमा समूहमा सर्वाधिक २४५.७५ अंकको उछाल आएको छ। विकास बैंक समूह १७३.८४ अंकले बढेको आज बैंकिङ समूह ११२.३२ अंकले उकालो लागेको छ। आज लघुवित्त समूह २७.७५ अंक, जलविद्युत् समूह २६.६६ अंक, वित्त समूह १२.२७ अंक, अन्य समूह ०.२५ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले बढेका छन्। आज निर्जीवन बीमा समूहमा सर्वाधिक ४५.५५ अंकले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ३७.२७ अंकले घटेको यो दिन व्यापार समूह ३५.३७ अंक र होटेल्स् समूह ७.६८ अंकले घटेका छन्।
यस्तै सबैभन्दा धेरै शेयर कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको मात्रै ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बढीको शेयर खरिदविक्री भएको छ । यस्तै कुमारी बैंकको शेयर कारोबार पनि ४० करोड ८० लाख ६२ हजार रुपैयाँ बढीको भएको छ । आइतबार कुमारी बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ । ३० करोड रुपैयाँ भन्दा बढी शेयर कारोबार हुने कम्पनीहरुमा नबिल बैंक, प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।
कारोबार बन्द हुँदा सम्म ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस बाहेक १८ वटा कम्पनीहरुको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि ५० वटा कम्पनीका शेयरधनीले गुमाएका छन् । यो दिन विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।