काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बोर्डले बिहीबार (मंसिर ११ गते) यो कम्पनीलाई ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। कम्पनीले शेयर निष्काशन माग गर्दै गत असोज २१ गते बोर्डमा आवेदन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।
अब कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
साधारण शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन पूर्व इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ कम्पनी इक्राले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।