काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ । स्थानीयलाई जारि गरिएको यस आईपिओमा काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार ६० कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ ।
दोस्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो।
आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ । कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति पाएको थियो ।