काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । बिहिबार ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज (आइतबार) फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ ।
आज नेप्से सूचक ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ ।
आज २०१ कम्पनीका १ करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार रुपैयाँको शेयर बिनबेच भएको हो ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५७ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख, नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २६ करोड ५३ लाख रुपैयाँ, नेपाल बैंकको २२ करोड ९८ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ५७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २१ करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको २० करोड ७३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १७ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज कारोबार भएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेक अन्य घटेका छन् । यो दिन बैंकिङ समूहमा सर्वाधिक २९.४४ अंकले बढेको छ । विकास बैंक समूह १३.४६ अंक र अन्य समूह १.३५ अंकले बढेको छ। उता जीवन बीमा समूह सर्वाधिक २७८.८१ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २४३.१४ अंक, व्यापार समूहमा १२४.७७ अंक, होटेल्स् समूहमा ८४.४९ अंक, जलविद्युत् समूहमा २१.४३ अंक, वित्त समूहमा ४.१७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८९.२९ अंक, लघुवित्त समूहमा ४.८८ अंक र म्युचुअल फन्ड समूहमा ०.२७ अंकले घटेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को कारण अन्य क्षेत्रमा लगानीको अवसर कम हुँदा शेयर बजारमा लगानी बढेको छ।