काठमाडौं । आइबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंक बढेर १५७५.१८ विन्दुमा पुगेको छ । यस दिन १८८ कम्पनीको ६४ हजार ५१५ पटकको कारोबारमा २ अर्ब ७४ करोड २७ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर खरीद बिक्री भएको छ ।
आइतबारको बजारमा कारोबारमा आएका १२ उपसमूहका सूचक मध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त उपसमूहको परिसूचक बाहेक सबै सूचक घटेका छन । लगातार बढेको होटल र जलविद्युत कम्पनीको सूचक घटेको छ । होटल र जलविद्युतका कारोबारी नाफा बुक गर्न लागेपछि आज यी समूहको शेयरमूल्य उच्चदरले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन रिलायान्स लाइफको सबैभन्दा धेरै १९ करोड बढीको शेयर किनबेच भयो । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १६ करोडको कारोबार हुँदा नेपाल बैंकको पनि १४ करोड बढीको कारोबार भएको छ।
यसदिन खानीखोला हाइड्रो, रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट, घलेम्दी हाइड्रो, सेन्ट्रल फाइनान्स लगायतको शेयरमूल्य उच्चदरले बढेको छ ।
आजको बजारमा अधिकांश फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ ।
मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री आउने भएपछिशेयर बजार बढेको विश्लेषकहरु बताउँछन् । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्य मनोनित नभएपछि उनले राजीनामा दिएका थिए । त्यसयता अर्थमन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आँफैले राखेका छन् ।