Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो

दैनिकी न्यूज

१०, आषाढ २०७७
नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो
images

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ ।

नगरपालिकाको विकासका लागि करिब रु एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो । नगरको डोजर धेरैजसोले व्यक्तिगत कामका लागि प्रयोग गरेका छन् । तुइनमा गाडी तार्नेदेखि भवनको जग खन्ने, व्यक्तिगत कुलो खन्नेलगायतका काममा प्रयोग गरिएको छ । जारी आवमा मात्रै डोजर प्रयोगवापतको रु ४४ लाख ७२ हजार रकम उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।


केही दिनअघि मात्रै नगर उपप्रमुख चन्द्राकुमारी बोहोराको संयोजकत्वमा बसेको नगर राजश्व परामर्श समितिको बैठकमा डोजरको उठ्न बाँकी रकमका बारेमा बृहत् छलफल भएको थियो । उठ्न बाँकी रकमको विषयलाई लिएर सरोकारवाला पक्षले तीव्र आलोचना गरेका छन् । आगामी नगरसभामा डोजर प्रयोग गरेर रकम नतिरेका सबैको नाम सार्वजानिक गरिने नगर उपप्रमुख बोहोराले बताइन् ।


नगरसभामा नाम सार्वजानिक गर्नुअघि डोजरका कर्मचारी खटाएर रकम उठाउन लगाउने र नउठे नाम सार्वजानिक गर्ने उनको भनाइ छ । डोजरका लागि मात्रै नगरपालिकाले तीन कर्मचारी नियुक्ति गरेको छ ।

“नगरको डोजरको लाखौँ उधारो छ, त्यही रकम उठाएर तलबभत्ता खुवाउनुपर्ने हो तर उधारो रकम नउठाएरै कर्मचारी पालिरहेको छ”, राजवश्व परामर्श समितिका सदस्य पूर्णकेशर न्यौपानेले बताए । नगरपालिकाको डोजर एउटै व्यक्तिले ४८ घण्टासम्म प्रयोग गरेर रकम नतिरेको उधारो सूचीमा देखिएको छ ।

सरकारी डोजर कर्मचारी, जनप्रतिनिधि, स्थानीय राजनीतिज्ञ, बुद्धिजीवीलगायतका व्यक्तिले प्रयोग गरेर रकम नतिरेको पाइएको हो । डोजर खरिद गरेका जिल्लाका अन्य स्थानीय तहले पनि आर्थिक लेखाजोखा जनतासामु सार्वजानिक गर्नुपर्ने डोल्पालीको धारणा छ । रासस

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १२:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology