ललितपुर । गत जेठ २ गते, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले १ सय ३६ जनाको आरडिटीबाट कोरोना परीक्षण गर्दा ३० र ३२ वर्षिय दुई महिलामा पोजिटिभ देखियो । गाउँपालिकाभरी हल्लाखल्ला मात्रै भएन ती दुईजना महिलालाई हेर्ने स्थानीयको नजर नै परिवर्तन भयो । दुबैजनालाई गाउँमा हिडडुल गर्न प्रतिवन्ध लगाउनुपर्ने सम्मका आवाज उठ्न थाले । त्यसपछि पनि होम क्वारेन्टिनमा छुट्टै सुरक्षित रुपमा बस्नुपर्ने भन्दै स्थानीयले मानसिक तनाव दिए ।
त्यसको भोलिपल्ट उनीहरुको पीसीआर परिक्षण गरियो, दुबैको रिपोर्टमा कोरोनाको संक्रमण देखिएन ।
जेठ ३ गते नै महाँकाल गाउँपालिकाले पनि १३८ जनाको आरडिटीबाट कोरोना परिक्षण गरायो । जसमध्ये काठमाडौंमा तरकारी विक्री गर्न ल्याउने दुईजनामा आरडिटी पोजिटिभ देखियो । गाउँभरी हल्ला फैलियो, ‘तरकारी व्यापार गर्ने दुईजनालाई कोरोना सर्यो' गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाललाई तारान्तार फोन आइरह्यो, ‘कसरी र कहाँबाट कोरोना संक्रमित भए ? अब उनीहरुलाई गाउँमा राख्नु हुँदैन, रिस्क हुन्छ ।’ दुई जनाकै पाटन अस्पताल लगेर स्वाव परीक्षण गरियो, जेठ ५ गते नतिजा आयो कोरोना नेगेटिभ ।
जेठ ५ गते गोदावरी नगरपालिकाले पनि बज्रबाराहीमा १ सय ५० जनाको आरडिटी परीक्षण गरायो, ४ जनामा पोजेटिभ देखायो । पोजिटिभ देखिनेमा सोही नगरपालिकाको एक कलेजका क्याम्पस प्रमुख पनि थिए । हतार हतार पीसीआर परीक्षण गराउँदा कसैमा पनि कोरोना देखिएन ।
त्यति गर्दा पनि जिल्लामा आरडिटीबाट कोरोना परीक्षण गर्ने क्रम रोकिएन ।
जेठ १७ गते महालक्ष्मी नगरपालिका–१ ले इमाडोलमा ४ सय ९६ जनाको आरडिटीबाट नै परीक्षण गरायो, त्यहाँ त झन ३३ जनाको रिपोर्ट पोजिटिभ आयो । पोजिटिभ देखिएकाहरुलाई घरबाट कतै ननिस्कन उर्दी जारी गरियो । जेठ १८ गते पीसीआरका लागि स्वाव संकलन गरियो, परीक्षणमा कुनैमा पनि कोरोना पोजिटिभ देखिएन । तर, ३३ जनाले भने मानसिक तनाव ४ दिनसम्म खानुपर्यो ।
यी माथिका तथ्यले आरडिटी विधिबाट परीक्षण गर्दा ललितपुरका नागरिकले कसरी दुःख पाएका छन् भन्ने देखाउँछ ।
कोरोनाको संक्रमणको जोखिम बढेपछि सरकारले लकडाउन गरिरहेको छ । कोरोना संक्रमण देशव्यापी फैलन थालेपछि जिल्लाका स्थानीय तहले आरडिटी नै भएपनि परीक्षण गराएर आफ्ना नागरिक ढुक्क बनाउन खोजेको हो तर, सोही परीक्षणका कारण मानिसले झेलेको मानसिक तनाव र स्थानीयले गरेको व्यवहारको भने जनप्रतिनिधिले हेक्का नै गरेनन् ।
पीसीआरबाट परीक्षण गर्नको लागि कीटको अभाव रहेको र निश्चित मात्र कीट सरकारले दिएको भन्दै स्थानीय सरकारले आरडिटी (जसलाई विज्ञहरु समेत त्यति राम्रो मान्दैनन् ) नै गरेको बताउँछन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सीमित कीटले त्यत्रा मानिसको परीक्षण गर्न संभव नै नभएपछि केहीको आरडिटी परीक्षण गरेको बताए ।
उता महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले केन्द्र सरकारले जम्मा २ सय जनाको लागि मात्र पीसीआर परीक्षण गर्नु भनेर निर्देशन दिएपछि त्यसबाहेक अन्यको आरडिटी परीक्षण गरेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पनि निश्चित व्यक्तिको मात्रै पीसीआर परीक्षण गर्न स्थानीय तहमा पठाएको स्वीकार गरे ।
ललितपुरमा जेठ २ गतेदेखि समुदाय स्तरको संक्रमण अवस्था पत्ता लगाउन जनसम्पर्क बढी हुने व्यक्तिहरु, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको आरडिटी र पीसीआर परिक्षण गरेको डा. गेलालले दैनिकीन्युजलाई बताए ।
तर, आरडिटी परीक्षणले अनावश्यक तनाव दिएपनि त्यसलाई रोक्नतिर कुनै पहल नै भएको छैन ।
अचम्म लाग्ने विषय त आरडिटीमा पोजिटिभ आएपछि सुरक्षाकर्मीलाई नै छुट्टै क्वारेन्टिनमा राखिएको पाइएको छ ।
जेठ १७ गते इमाडोलमा परीक्षण गर्दा दुई सुरक्षकर्मीको रिपोर्ट शंकास्पद आएपछि दुई सुरक्षाकर्मीलाई छुट्टै क्वारेन्टाइनमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
कोरोनाको संक्रमण थाहा पाउन पीसीआर परीक्षण गराउनुपर्छ, ती दुई प्रहरीको पीसीआरको रिपोर्ट नआउँदै उनीहरुलाई छुट्टै राख्ने, खाना दिँदा समेत दुरी राखेर दिने गरेको उनीहरुले दैनिकीन्यजलाई बताए ।
‘साथीहरुले गर्ने व्यवहार नै पुरै परिवर्त नभएको थियो’, पीडित एक प्रहरीले भने, खाना पनि निकै दुरी राखेर दिए ।’ दुईजनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।