काठमाडौं । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकामध्ये ४३७ जनाको अवस्था गम्भीर छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् ।
प्रदेशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा भएका छन् । उक्त अवधिमा कोशीमा ३९७ वटा दुर्घटना भएका छन् । सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा १७१, बागमती प्रदेशमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा सवारी दुर्घटना भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छन् । उक्त अवधिमा एक हजार ५५२ मोटरसाइकल दुर्घटनामा संलग्न भएका थिए । यस्तै, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर र १५ टिपर दुर्घटनामा परेका छन् ।
त्यसैगरी १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन पनि दुर्घटनामा संलग्न भएका प्रहरीले जनाएको छ ।
गत वर्षको दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए । यस वर्ष भने गत वर्षको तुलनामा १५३ वटा कम दुर्घटना भएका छन् ।