काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आगामी दिनमा पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली र तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी प्रदेशका तराई भूभागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।