Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी

दैनिकी न्यूज

३, भाद्र २०८३
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमि नन्दन कर्माचार्यको उम्मेदवारी
images

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको आगामी आश्विन २३ र २४ गते हुने ४७औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा संघका वर्तमान महासचिव भूमि नन्दन कर्माचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पाटन सौगलस्थित बि. जि. ट्रेडिङ सेन्टरका सञ्चालक कर्माचार्य २०७० सालदेखि संघको कार्यसमितिमा आबद्ध छन्। उनले तीन पटक कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक र कोषाध्यक्ष हुँदै हाल महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।

कर्माचार्यका अनुसार संघमा रहँदा रजतजयन्तीका अवसरमा संघको इतिहासमै पहिलो पटक लोगो अंकित सिक्का निष्कासन, जावलाखेलमा रजतजयन्ती स्तम्भ स्थापना र छात्रवृत्ति कोष वृद्धि लगायतका काम भएका छन्। छात्रवृत्ति कोष करिब ३ लाख ५० हजार रुपैयाँबाट बढाएर २७ लाख रुपैयाँ पुर्‍याइएको उनले बताए।

२०७७ देखि २०८० सालसम्म कोषाध्यक्षको जिम्मेवारी सम्हालेका कर्माचार्यले संघको आर्थिक अवस्था सुदृढ बनाउन काम गरेको बताए। २०८० सालदेखि महासचिवको जिम्मेवारीमा रहेका उनले सचिवालय सुदृढीकरण, तालिम, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम विस्तार र डिजिटल प्रणाली विकासमा काम गरेको जानकारी दिए।

उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ललितपुर बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरिएको छ। त्यस्तै, फुटपाथ व्यापार, पार्किङ, कर तथा राजस्वसँग सम्बन्धित समस्या समाधानका लागि स्थानीय सरकारसँग निरन्तर पहल गरिएको छ।

भूकम्प तथा कोभिड–१९ महामारीका समयमा संघका सदस्यसहित अन्य पीडितलाई राहत तथा पुनःस्थापनामा पनि आफू प्रत्यक्ष रूपमा सहभागी भएको कर्माचार्यले बताए। संघका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको उनको भनाइ छ।

कर्माचार्य खाद्य व्यापार संघ ललितपुरका उपाध्यक्ष, नेपाल मुद्रा सङ्कलक संघका उपाध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्वसचिव तथा अनवरत रक्तदान नेपालका संस्थापक कोषाध्यक्षसमेत हुन्।

अध्यक्षमा निर्वाचित भए निजी क्षेत्रको आवाज संघ, प्रदेश र स्थानीय सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउने, उद्योगी–व्यवसायीको हकहित र व्यवसायिक सुरक्षालाई प्राथमिकता दिने तथा संघको संस्थागत भूमिका थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता जनाएका छन्।

“महासचिवको जिम्मेवारी निर्वाह गर्दा संघलाई नजिकबाट बुझ्ने र सदस्यका समस्या पहिचान गर्ने अवसर पाएँ। अब अध्यक्षको जिम्मेवारी लिएर ती समस्या समाधान गर्न चाहन्छु,” कर्माचार्यले भने।

उनले आगामी निर्वाचनमा संघका उद्योगी–व्यवसायी सदस्यबाट विश्वास र समर्थन प्राप्त हुने अपेक्षा गर्दै आफूलाई मतदान गरी सेवा गर्ने अवसर दिन आग्रह गरेका छन्।

images
प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - ०९:१०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology