Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

ललितपुरमा साउनमा १७९ मुद्दा, दुर्घटनामा १३ जनाको मृत्यु

ललितपुरमा साउनमा १७९ मुद्दा, दुर्घटनामा १३ जनाको मृत्यु

दैनिकी न्यूज

२, भाद्र २०८३
ललितपुरमा साउनमा १७९ मुद्दा, दुर्घटनामा १३ जनाको मृत्यु
images

ललितपुर । ललितपुरमा साउन महिनामा विभिन्न प्रकृतिका १७९ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार यस अवधिमा ८५ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १३१ जना घाइते भएका छन्।

दर्ता भएका मुद्दामध्ये सात वटा जघन्य तथा गम्भीर प्रकृतिका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ८४ र अन्य प्रकृतिका ८६ वटा मुद्दा रहेका छन्। प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।

फैसला कार्यान्वयनका क्रममा पनि ३३ जना पक्राउ परेका छन्। उनीहरूबाट १० वर्ष १० महिना ७ दिन कैद, २ करोड ८८ लाख २६ हजार ७०९ रुपैयाँ बिगो र १८ लाख ८५ हजार ८२५ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ।

त्यस्तै साउनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३९ वटा उजुरी प्रहरीमा परेका थिए। तीमध्ये ३७ वटा फर्छ्योट भएका छन्। घरेलु हिंसाका ३५ उजुरीमध्ये ३४ वटा मिलापत्रमार्फत टुंग्याइएको छ।

यस्तै, साउनमा ललितपुरबाट ५८ जना हराएको जानकारी प्रहरीमा आएको थियो। तीमध्ये ३६ जना फेला परेका छन्।

प्रहरीमा प्रत्यक्ष आएका ४५३ वटा ठाडो उजुरीमध्ये ४३१ वटा फर्छ्योट भएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ९५ उजुरीमध्ये ९१ वटा टुंग्याइएको प्रहरीले जनाएको छ।

आत्महत्याबाट १४ जनाको मृत्यु
साउनमा ललितपुरमा १४ जनाले आत्महत्या गरेका छन्। मृत्यु हुनेमा आठ महिला र छ पुरुष छन्। प्रहरीका अनुसार १३ जनाले झुण्डिएर र एक जनाले विषादी सेवन गरेर आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा १९ देखि ३० वर्ष उमेर समूहका सात जना छन्।

लागुऔषधमा ११ जना पक्राउ
लागुऔषधसम्बन्धी सात वटा मुद्दा दर्ता गरी प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न प्रकारका लागुऔषध र गाँजा बरामद गरेको जनाएको छ।

यस्तै, एकै दिन ललितपुरका पाँच स्थानमा चोरी गरेको आरोपमा गोदावरी–१४ टौखेलका ३३ वर्षीय सुरज महर्जन पक्राउ परेका छन्। सीसीटीभी फुटेजका आधारमा उनलाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीबाट गरगहना, नगद र चोरीमा प्रयोग भएका औजार बरामद भएका छन्। कर्तव्य ज्यान मुद्दामा करिब पाँच वर्षदेखि फरार रहेका तीन जना पनि साउनमा पक्राउ परेका छन्।

सवारी दुर्घटनामा १३ जनाको मृत्यु
साउनमा भएका ८५ सवारी दुर्घटनामा १३ जनाको मृत्यु र १३१ जना घाइते भएका छन्। दुर्घटनामा १२४ वटा सवारीसाधन संलग्न थिए।

प्रहरीका अनुसार तीव्र गति, सवारी अनियन्त्रित हुनु र ठक्कर लाग्नु दुर्घटनाका प्रमुख कारण हुन्। दुर्घटना न्यूनीकरणका लागि चेकजाँच र कारबाही बढाइएको प्रहरीले जनाएको छ।

५ हजार ८५० प्रहरी परिचालन
साउनमा विभिन्न कार्यक्रम तथा सुरक्षा व्यवस्थापनका लागि ललितपुरमा ५ हजार ८५० प्रहरी परिचालन भएका छन्। राजनीतिक कार्यक्रम, विरोध प्रदर्शन, र्‍याली, मेला–पर्व, जात्रा, परीक्षा तथा विशिष्ट व्यक्तिको सवारीलगायत ८० वटा कार्यक्रममा प्रहरी परिचालन भएको थियो।

अपराध नियन्त्रणका लागि नियमित गस्ती, चेकजाँच र स्वीप अपरेसन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। समुदाय तथा विद्यालयमा लागुऔषध, साइबर अपराध, घरेलु हिंसा, चोरी तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार साउनको तथ्यांकले अपराधसँगै सवारी दुर्घटना, आत्महत्या, घरेलु हिंसा र लागुऔषध नियन्त्रणमा पनि ध्यान दिनुपर्ने जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - १३:५६:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology