काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुनुका साथै पार्टीको चार महिने अभियानको समीक्षा हुने महासचिव देव गुरुङले जानकारी दिए ।
माओवादी केन्द्रले आगामी फागुनको पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरिसकेको छ । जसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पुस ५ गते सात सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की सदस्य छन्।
त्यस्तै चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।
माओवादीले गत भदौ १६ देखि पुस १६ सम्म चार महिने रूपान्तरण अभियान चलाएको थियो। स्थायी कमिटी बैठकमा अभियानका क्रममा सात वटै प्रदेशबाट प्राप्त रिपोर्टबारे छलफल हुनेछ ।