Logo

शनिवार, आश्विन २४ गते २०८३

images

उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने

उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने

दैनिकी न्यूज

१, चैत्र २०७९
उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने
images

ललितपुर । उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित अन्तरक्रयाका वक्ताहरूले उपभोक्ता अधिकारका लागि सबै पक्ष जागरुक र सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अधिकार प्राप्त गर्ने पक्ष जागरुक र सचेत नहुँदा ठगिने अवस्था आउने बताए। उनले उपभोक्ताको अधिकारका लागि व्यवसायीलाई मात्र गाली गर्नेभन्दा पनि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय नै जिम्मेवार हुनुपर्नेमा जोड दिए। उपभोक्ताको हकको सुनिश्चितताका साथै व्यवसायीको संरक्षण गर्नु नियमनकारी निकायको जिम्मेवारी हुने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उपभोक्ताको अधिकार संरक्षणमा व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको समान दायित्व रहेको बताए। “तीनै पक्षको समान भूमिका र बुझाइ आवश्यक छ । नियमन गर्नु हाम्रो दायित्व हो । हामीले अनुगमन गर्दा प्रदेशसँग समन्वय गरेर अनुगमन गर्छौं। अनुगमनका नाममा कसैलाई त्रसित बनाउने हाम्रो मनसाय छैन ।” प्रजिअ आचार्यले भने।

विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजना र ललितपुर महानगरपालिकाको सहयोग तथा राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरको सहजीकरणमा ‘सार्वभौम उपभोक्ता र नियमनकारी निकायको भूमिका’ विषयक अन्तक्रियामा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले अनुगमन गर्दा सम्बन्धित क्षेत्रको एक जना विज्ञ राख्नुपर्ने बताए।

उनले पछिल्लो समय सहकारीले बचत फिर्ता नगर्दा समस्या भएको र चेक बाउन्सको समस्या धेरै भएको बताए। ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले केन्द्रीय, प्रदेश तथा स्थानीय तहका छुट्टाछुट्टै अनुगमन गर्ने संयन्त्र हुनुभन्दा एउटै भए राम्रो हुने तर्क गर्दै चाडपर्वमा मात्रै अनुगमन गर्ने पद्धति गलत भएको तर्क गरे ।

1.1.jpg

ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव रुपकमान महर्जनले बाह्रै महिना बजार अनुगमन हुनुपर्ने बताउँदै अनुगमन गर्दा व्यवसायी सचेतना कार्यक्रम गर्नु आवश्यक रहेको बताए। साना तथा घरेलु उद्योग कार्यालय ललितपुरकी उद्योग अधिकृत भूमिका ओझाले व्यवसायीमा कानूनी चेतनाको अभाव भएको बताउँदै अनुगमन गर्दा सम्झाएर नटेरेको खण्डमा मात्रै जरिमाना गर्ने गरेको बताइन्।

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - २०:३५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology