काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।
नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलका हैसियतले काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
यसैगरी सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण भोलि हुने जानकारी दिएको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार ढलेको हो । नाउपाले रेशम चौधरीको रिहाइ माग गर्दै आएको छ। रिहाइ नभएसम्म कुनै पनि सरकारलाई विश्वासको मत नदिने अडान लिँदै आएको छ। मुख्यमन्त्री शाहले पनि एक महिनाभित्र विश्वासको मत दिनुपर्ने छ।
प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४‚ राप्रपाका १ सांसद र एकजना स्वतन्त्र छन्।
संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका थिए।
धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
त्यसअनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली काँग्रेसको संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।