Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा

मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा

दैनिकी न्यूज

२४, जेठ २०७९
मन्त्री फेर्न प्रधानमन्त्रीकै अनिच्छा
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् ।

संसद्मा बजेटमाथिको छलफल जारी रहेको, भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएर गठबन्धनका पक्षमा माहोल बनेको र गठबन्धनबाहिका दलहरू पनि गठबन्धनसँग जोडिन चाहिरहेका बेला मन्त्री फेर्दा त्यसको असर सरकार र सिंगो गठबन्धनमा नै पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री देउवा तत्कालमन्त्री हेरफेर नगर्ने निर्णयमा पुगेका हुन् ।

‘प्रधानमन्त्री अहिले सरकारमा रहेका मन्त्रीलाई हटाउने सोचमा हुनुहुन्न, यसले सरकार र सिंगो गठबन्धनलाई नै असर पर्ने उहाँको बुझाइ छ, एउटा दलको मन्त्री हेरफेर गर्दा गठबन्धनमा रहेका अन्य दलमा पनि त्यो आवाज उठ्छ भन्ने प्रधानमन्त्रीको विश्लेषण छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने ।

सरकारमा सहभागीमध्येको एकघटक नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकमार्फत आफ्ना दलबाट सरकारमा सहभागी विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठलाई फिर्ता बोलाएर सो स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो ।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रूपमा सिफारिस गरेको थियो ।

सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको दाबी गरिएको थियो भने सोमबार शपथ गर्नेगरी तयारीसमेत भएको बताइएको थियो । यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - ०६:४५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology