Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बारा–पर्साका उद्योगको उत्पादन शून्य

बारा–पर्साका उद्योगको उत्पादन शून्य

दैनिकी न्यूज

१८, बैशाख २०७९
बारा–पर्साका उद्योगको उत्पादन शून्य
images

काठमाडौं । विद्युत् आपूर्ति ठप्प हुँदा बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन ठप्प भएको छ । यस क्षेत्रका उद्योग प्रतिष्ठानले ४ दिनदेखि बिजुलीको मुख देख्न पाएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणले दैनिक १२ देखि १६ घण्टासम्म लोडशेडिङ हुने बताए पनि कोरिडोरका उद्योगमा ४ दिनदेखि विद्युत् आपूर्ति ठप्प छ ।

विद्युत् आपूर्ति ठप्प भएपछि कोरिडोरका उद्योगको उत्पादन शून्यमा झरेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । यस क्षेत्रमा सानाठूला गरी २ हजार उद्योग रहेको संघको अनुमान छ ।

भारतबाट ५०० मेगावाट बिजुली ल्याएर आपूर्ति भइरहेकोमा उताबाट निकासी रोकिएपछि उद्योगमा आपूर्ति दिन नसकेको प्राधिकरणको भनाइ छ । रूस र युक्रेनबीचको तनावले उत्पन्न कोइला अभावले भारत आफै ऊर्जा संकट सामना गरिरहेको छ । भारतले आन्तरिक आपूर्ति व्यवस्थापनका लागि नेपालतर्फको निकासी बन्द गरेको हो ।

भारतबाट आउने ५०० मेगावाट बिजुली अहिले ३६ मेगावाटमा झरेको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले बताए । ‘बारा–पर्सा कोरिडोरका उद्योगमा आपूर्ति बन्द गरिएको छ । अहिले गार्हस्थ्य उपभोक्तालाई मात्रै आपूर्ति भइरहेको छ । उद्योगमा बिजुली दिन अझै केही दिन लाग्न सक्छ,’ झाले भने ।

प्राधिकरणले उद्योगमा आलोपालो गरेर आपूर्ति गरिने बताए पनि भारतबाट ल्याउन नसकेपछि लगातार बिजुली काटेको हो । बारा–पर्सा कोरिडोरका उद्योगहरूमा भारतबाट आयातित विद्युत् बढी आपूर्ति हुने गरेकाले बढी प्रभावित भएका छन् ।

आपूर्ति मिलाउने प्रयास भइरहेको पनि झाले जानकारी दिए । ‘आपूर्तिको प्रयास भइरहेको छ । चाँडोमा मंगलवारसम्म उद्योगमा बिजुली आउन सक्छ,’ उनले भने ।

कुलेखानी आयोजनाको पानी ४० प्रतिशत खपत भइसकेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी रहेको ६० प्रतिशत पानीबाट उत्पादित बिजुलीबाट वितरण व्यवस्था मिलाउनुपर्ने दबाबमा प्राधिकरण छ । नदीमा पानीको बहाव नबढेसम्म ऊर्जा अभाव नहट्ने र जेठ, असारसम्मै यो समस्या रहन सक्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले पहिला कोरिडोरका कम ऊर्जा खपत गर्ने उद्योगमा विद्युत् दिने योजना बनाएको छ ।

शुरूमा १ मेगावाटभन्दा कम ऊर्जा उपभोग गर्नेलाई आपूर्ति दिने र त्यसपछि त्योभन्दा बढी चाहिनेलाई दिने जानकारी पाएको उपाध्यक्ष गौतमको भनाइ छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खबर लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - ०७:०३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology