काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ।
आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गर्नेछ ।
चुनावका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।
यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ। जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
दलहरुले आफ्नै पार्टीको चुनाव चिह्न पाए पनि स्वतन्त्रले आयोगले तोकेको चिह्न पाउनेछन्।