Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्थानीय तहको निर्वाचन २० वैशाखमा गर्ने प्रस्ताव

स्थानीय तहको निर्वाचन २० वैशाखमा गर्ने प्रस्ताव

दैनिकी न्यूज

८, पौष २०७८
स्थानीय तहको निर्वाचन २० वैशाखमा गर्ने प्रस्ताव
images

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो ।

प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

‘देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि म्याद थपको व्यवस्था छैन, त्यसकारण जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै आयोगले स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गरिरहेको छ,’ काभ्रेको धुलिखेलमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले भने ।

त्यसका लागि आयोगले छिट्टै नै सरकारसँग परामर्श गर्नेसमेत उनले जानकारी दिए । यसअघि भने आयोगले सरकारसँग स्थानीय तहको निर्वाचनका लागि ५ चैतको मिति प्रस्ताव गरेको थियो ।

स्थानीय तहको निर्वाचन कानुनमा केही विवाद र जटिलतासमेत छ । यस्तै, संविधान र कानुनमा म्याद थपको व्यवस्थासमेत राखिएको छैन ।

गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैंगिकता तथा समावेशिता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - ०७:२७:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology