Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी

कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी

दैनिकी न्यूज

१९, श्रावण २०७८
कोरोना बीमामा कुल १३ अर्ब बराबरको दाबी
images

काठमाडौं । कोरोना बीमामा कुल १३ अर्ब १४ करोड १७ लाख ३१ हजार ६०० रुपैयाँको बीमा दाबी परेको पाइएको छ । २० निर्जीवन बीमा कम्पनीहरूमा असार मसान्तसम्म त्यो बराबरको दाबी परेको हो ।

गत साउन १ गतेदेखि कोरोना बीमासम्बन्धी दाबी भुक्तानीबाहेक सम्पूर्ण कारोबार बन्द गरिएको छ । कारोबार सञ्चालनमा रहेको अन्तिम दिन अर्थात् असार मसान्तसम्म त्यो बराबरको दाबी परेको हो ।

बीमा समितिबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्तिम समयसम्म कोरोना बीमामा १३ अर्बभन्दा बढीको आवेदन परेको बताए । उनका अनुसार बीमा कम्पनीहरूमा अन्तिम दिनसम्म १ लाख १७ हजार ७५४ ओटा दाबी आवेदन परेका छन् ।

समितिले २०७६ वैशाखदेखि कोभिड–१९ बीमालेख कार्यक्रम ल्याएको थियो । त्यसको कारोबार गत असारमसान्तसम्म सञ्चालन गर्नेगरी कार्यविधि बनाइएको थियो । त्यसअनुसार गत साउन १ गतेदेखि कोरोना बीमाको कारोबार बन्द गरिएको छ ।

कारोबार शुरू भएको मितिदेखि अन्तिम दिनसम्म १ अर्ब ५ करोड ५ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको थियो । तर, दाबी आवेदन भने त्योभन्दा अत्यधिक बढी
परेको छ ।

कोरोनामा बीमामा त्यस बराबरको दाबी परे पनि भुक्तानी भने अत्यन्त न्यून मात्रामा भएको छ । हालसम्म साढे ४ अर्बको हाराहारीमा दाबी भुक्तानी भएको छ । सरकारले आफ्नो दायित्व बराबरको रकम निकासी नगर्दा दाबी भुक्तानीमा ढिलाइ भएको कम्पनीहरूको भनाइ छ । यसरी अर्थ मन्त्रालयले आप्mनो दायित्व बराबरको रकम निकासी नगरेपछि कम्पनीहरूले गत शुक्रवारदेखि दाबी भुक्तानीको कार्य नै स्थगित गरेका छन् ।

बीमा कम्पनीहरूले दाबी भुक्तानी रोके पनि अर्थ मन्त्रालयले यस विषयमा कुनै नयाँ निर्णय गरेको छैन ।

अर्थ मन्त्रालयले कुनै पनि निर्णय नगरेपछि बीमा समितिले सोमवार नै रकम निकासीको अनुरोध गर्दै मन्त्रालयलाई फेरि पत्राचार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक पौडेलले मन्त्रालयलाई रकम निकासीको अनुरोध गर्दै पत्र पठाएको बताए । अबको केही दिनमा नै यस विषयमा उचित निर्णय हुन सक्ने उनको भनाइ छ । तत्कालीन सरकारले कोरोना बीमाको दायित्व सरकारले पनि बेहोर्ने बताएको थियो ।

सोहीअनुसार कोरोना बीमामा साढे ३ अर्ब माथिको दाबी भुक्तानी सरकारले नै बेहोर्ने गरी मापदण्ड बनाइयो । कोरोना बीमाको दाबी भुक्तानी साढे ३ अर्ब नाघेको महीनौं भइसक्यो । तर, आर्थिक वर्ष सकिँदा पनि कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयबाट कत्ति पनि रकम निकासा नभएको समितिको भनाइ छ । उक्त रकम निकासी गर्न बीमा समिति र कम्पनीहरूबाट पनि पटकपटक पहल भएका छन् । साथै, धेरैपटक समिति र अर्थ मन्त्रालय बीच पनि छलफल हुँदै आएको छ । तर पनि रकम निकासी भएको छैन ।

कोरोना बीमामा बीमाक्षेत्रको दायित्व जम्मा दायित्व रू. ३ अर्ब ५० करोड रहेको छ । यसमा बीमा समितिले रू. १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले रू. १ अर्ब र २० निर्जीवन बीमा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ गरेर त्यो बराबरको भुक्तानी बीमाक्षेत्रबाट नै हुने व्यवस्था छ । बीमा क्षेत्रले त्यो बराबर मात्र नभएर थप रू। १ अर्बभन्दा बढी भुक्तानी दिइसकेका छन् । तर, सरकार भने आफ्नो दायित्व बराबरको रकम भुक्तानी गर्न अभैm निर्णय गर्न सकेको छैन । साढे ३ अर्बभन्दा माथिको दाबी सरकारले नै बेहोर्ने गर्ने अर्थ मन्त्रालय, बीमा समिति र बीमा कम्पनीहरूबीच सहमति भएको थियो । तर, अर्थ मन्त्रालयले यसका लागि आवश्यक बजेट नदिँदा गत वैशाखदेखि नै यसको दाबी रोकिएको छ । कोरोना बीमामा परेको कुल दाबीको आधारमा सरकारले कोरोना बीमामा साढे ९ अर्बभन्दा बढी रकम तिर्नुपर्ने हुन्छ । तर, सरकारले अभैm त्यो निकासी नगरेको कम्पनीहरूको आरोप छ ।

यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०६:५२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology