Logo

शनिवार, आश्विन २४ गते २०८३

images

२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण

२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण

दैनिकी न्यूज

५, जेठ २०७८
२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण
images

काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए । सोहीअनुसार अभाव भएका स्थानमा तीव्रतासाथ अक्सिजन पु-याइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयकै निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २४ घण्टामा उपत्यकाभित्रका ९ उद्योगबाट ८ हजार १ सय २३ र बाहिरका १९ अक्सिजन उद्योगबाट ८ हजार १ सय ९८ गरी कुल १६ हजार ३ सय १९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरेको हो ।

प्रवक्ता शर्माका अनुसार मंगलबारसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४ हजार ८ सय ३२ सिलिन्डर संकलन भई सम्बन्धित उद्योगमा फिर्ता पठाइएको छ । स्थानीय प्रशासनले विभिन्न अस्पताललाई ७ हजार ७ सय २६ अक्सिजन सिलिन्डर वितरण गरेको पनि उनले जानकारी दिए ।

यसैगरी, कोभिड संक्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर ३ सय ८२ अस्पताल रहेकामा ४ थप भई ३ सय ८६ सञ्चालनमा छन् । ती अस्पतालमा १७ हजार सामान्य बेड प्रबन्ध गरिएको छ ।

पछिल्ला दिन देशभर सामान्य बेड संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । संक्रमितको विशेष उपचारका लागि २ हजार ५ सय एचडीयू बेड, अघिल्लो दिनको तुलनामा थप ९ सहित १ हजार ९ सय ९९ आईसीयू र ६ सय भेन्टिलेटर प्रबन्ध गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार देशका हरेक स्थानमा अक्सिजन कम हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक पहल गर्न निर्देशन दिइएको छ । कुनै समस्या परेका तत्काल जानकारी केन्द्रमा दिनुपर्ने र केन्द्रले आवश्यक सहजीकरणसहित समस्या समाधान नीति अख्तियार गरेको हो ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका प्रमुख सचिवमार्फत कोभिड नियन्त्रण र उपचारबारे भइरहेका गतिविधि नियमित अनुगमनसमेत गरिरहेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०६:१४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology