Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मतदाता दर्ता देशभर

मतदाता दर्ता देशभर

दैनिकी न्यूज

२, बैशाख २०७८
मतदाता दर्ता देशभर
images

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ । केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन फेरि थालिएको हो । निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश थपलियाले स्थगित भएकै समयदेखि बाँकी र योग्यता पुगेका नेपाली नागरिकको नाम दर्ता सुचारु गरिएको जानकारी दिए ।

‘निर्वाचन मिति तोकिँदा केही समय नामावली संकलन स्थगित गरिएको थियो, स्थगित भएदेखि पुनः नाम दर्ता सुचारु भइसकेको छ,’ उनले भने, ‘योग्यता पुगेका नेपाली नागरिकले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।’

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नामावलीमा दर्ता हुन उमेर पुगेका र छुटेका नेपाली नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगेर दर्ता गर्न सक्नेछन् । नामाकृत मतदाताले भने पुनः दर्ता गरिरहनुपर्दैन ।

‘नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा छुटेका नागरिकलाई दर्ता गर्न उत्प्रेरित गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने–आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहलाई आग्रह गरेका छौं ।’

मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पूरा भएका नेपाली नागरिकको नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउने जिम्मेवारी आफ्नो भएको आयोगले जनाएको छ ।

७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम संकलन निरन्तर गर्ने व्यवस्था मिलाइएको छ । ‘योग्यता पूरा भएका कोही मतदान गर्नबाट वञ्चित नहुन’ भन्ने आयोगको अभिप्राय हो ।

मतदातामा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वसर्त रहेको आयोगले जनाएको छ । आयोगले नामावली संकलन कार्य व्यापक बनाउन साताव्यापी अभियान चलाउने तयारी गरे पनि कोरोना संक्रमण बढ्दोक्रममा रहेकाले केही समयपछि मात्रै सुरु गर्ने भएको छ ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०६:०४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology