Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभा विघटन मुद्दामा बृहत पूर्ण इजलास माग

प्रतिनिधिसभा विघटन मुद्दामा बृहत पूर्ण इजलास माग

दैनिकी न्यूज

२१, पौष २०७७
प्रतिनिधिसभा विघटन मुद्दामा बृहत पूर्ण इजलास माग
images

काठमाडौं । प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि चुनौती दिँदै परेका निवेदनमाथि बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । कानुन व्यवसायीको प्रतिवादका बाबजुद गत १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पेस गर्ने भनी आदेश गरेको थियो । निवेदनहरू संवैधानिक इजलासमा प्रवेश गरेपछि पनि कानुन व्यवसायीहरूले त्यसलाई बृहत् पूर्ण इजलासमै पठाउन फेरि एक पटक पहल गर्दैछन् ।

रिट निवेदक र अरू कानुन व्यवसायीहरू संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासबाट यसको सुनुवाइ हुनुपर्ने आवाज उठाइरहेका छन् । संविधानकै ट्र्याक निर्धारण गर्ने प्रकृतिको विधिशास्त्रीय दृष्टिकोण निर्माण गर्ने मुद्दा पाँच सदस्यीय इजलासको साटो बृहत् पूर्ण इजलासबाट सुनुवाइ हुनुपर्ने उनीहरूको मत छ । यो आवाज सुनुवाइ भए यसअघिका प्रतिनिधिसभा विघटनका मुद्दाहरूमा झैं कम्तीमा पनि ९ वा ११ सदस्यीय इजलास गठन हुनेछ ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालका अनुसार अहिलेको सन्दर्भमा निष्पक्ष र तटस्थ सुनुवाइको सुनिश्चितता न्यायालयका लागि प्रमुख चुनौती हो । ‘केही न्यायाधीशबारे विवाद पनि भयो, सानो इजलास गठन गर्दा भोलि पनि त्यस्तै प्रश्न आउँछ । त्यसैले अलि बृहत् इजलासले न्यायनिरूपण गर्दा निष्पक्षता झल्किन्छ,’ उनले कान्तिपुरसित भने, ‘यो जत्तिको ठूलो र राष्ट्रिय सरोकारको मुद्दा अर्को हुँदैन । यस्तो अवस्थामा अदालतले आफ्नो निष्पक्षता र स्वतन्त्रता देखाउन पनि सकेसम्म बृहत् इजलास गठन हुनुपर्छ ।’

२०५१ र २०५२ सालमा पनि सानो इजलासले हेर्दा हुने भए पनि विवाद नहोस् भनेर नै ११ सदस्यीय इजलास गठन भएको उनले बताए । उनको भनाइमा कम्तीमा पनि संवैधानिक इजलासको ‘रोस्टर’ मा भएका न्यायाधीशहरूलाई समावेश गरेर इजलास गठन गर्नु उचित हुन्छ । प्रतिनिधिसभा विघटनको निर्णय गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हाम्रो आफ्नो र विभिन्न मुलुकको अभ्यास’ लाई आधार मानेका छन् । उनले अदालतमा पठाएको प्रतिउत्तरमा २०५१, २०५२ र २०५९ सालको प्रतिनिधिसभा विघटन र त्यसबारे भएको न्यायनिरूपणका विषयलाई आफूले आधार मानेको उल्लेख गरेका छन् । एक संवैधानिक कानुनविद्का अनुसार अब त्यसको औचित्य हेर्न पनि पुराना नजिरहरूको विवेचना गर्नुपर्ने हुन्छ । ‘कतिपय अवस्थामा तिनकै औचित्य अब सान्दर्भिक नहोला,’ ती कानुनविद्ले भने, ‘अब पाँच जनाको इजलासले ११ वा ९ जनाको इजलासको फैसलालाई उल्ट्याउनुपरे के गर्ने रु भोलि नैतिक प्रश्न आउन सक्ने भएकाले त्योभन्दा बृहत् रूपमा सोच्नुपर्छ ।’

नेपालको संविधान २०४७ अनुसार प्रतिनिधिसभा विघटनको प्रयोग चार पटक भइसकेको छ । दुई पटक अदालतको कदमका कारण विघटन सफल हुन सकेन भने दुई पटकको विघटनलाई अदालतले अनुमोदन गर्‍यो । त्यसरी विघटनको मुद्दामा सुनुवाइ हुँदा दुई पटक ११ सदस्यीय इजलास गठन भएको थियो भने एक पटक तत्कालीन राजाले राय माग्दा ९ सदस्यीय इजलास गठन भएको थियो । त्यसको तुलनामा अहिले गठन भएको इजलास निकै सानो अर्थात् ५ सदस्यीय हो । सामान्यतया कुनै नजिरको औचित्य असान्दर्भिक भई नयाँ नजिर प्रतिपादन हुने अवस्था आए पहिलेको भन्दा बृहत् इजलास आवश्यक मानिन्छ । ती नजिरहरूमाथि विवेचना गरी नयाँ विधिशास्त्रीय मत निर्माण गर्नुपरे असहज नहोस् भनेर पनि अहिले कानुन व्यवसायीहरूले बृहत् इजलासको माग गरिरहेका हुन् । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०८:१९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology