काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ हजार ६ सय ५० नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा साढे १२ अंकले बढेपछि आइतबार नेप्से १ हजार ६ सय ४८।५८ विन्दुमा उक्लेको हो । यो तीन वर्षयताकै उच्च हो ।
यसअघि ०७४ साउन २३ मा नेप्से १ हजार ६ सय ६७ विन्दुमा थियो । त्यसपछि घट्न थालेको नेप्से ०७५ फागुन ५ मा १ हजार १ सय ०९ को न्यून विन्दुमा ओर्लियो । सो विन्दुबाट टेवा पाएर बढ्न लागेको नेप्से गत फागुन १८ मा पछिल्लो एक वर्षकै उच्च १ हजार ६ सय २०।२७ विन्दुमा पुगेको थियो । पछिल्ला केही सातायता भने नेप्से पछिल्लो उच्च विन्दु पार गर्दै उकालो लागिरहेको छ ।
नेप्से परिसूचकसँगै सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि हालसम्मकै उच्च बनेको छ । आइतबार कुल बजार पुँजीकरण २२ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको छ । यसअघि यस्तो पुँजीकरण करिब २२ खर्ब १ अर्ब रुपैयाँ कायम भएको थियो । बजार पुँजीकरण हालसम्मकै उच्च भए पनि समग्र नेप्से भने हालसम्मकै उच्च विन्दुभन्दा अझै २ सय ३३ अंकले कम हो । ०७३ साउनमा नेप्से हालसम्मकै उच्च १ हजार ८ सय ८१ विन्दुमा पुगेको थियो ।
लकडाउनका कारण घरेलु अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । सोही कारण राष्ट्रिय योजना आयोगको एक अध्ययनले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० झन्डै २ खर्बले घट्ने अनुमान गरेको छ । अझै पनि कोभिड–१९ को जोखिम कायमै छ । यसकारण अर्थतन्त्र थप प्रभावित हुने र त्यो अवस्थामा आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने अनुमान गरिएको छ । लकडाउनका कारण लामो समय अर्थतन्त्रका धेरै क्षेत्र अझै निरन्तर सञ्चालन हुन सकेका छैनन् । अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । लगानीकर्ताले आफू भएकै स्थानबाट अनलाइनमार्फत सेयर किनबेच गर्न सक्छन् । यस्तै सेयर धितोमा कर्जाको सीमा बढेको छ भने भारित औसत जोखिम भार घटेको छ । उल्लिखित कारणले सेयर बजारमा अनुकूल अवस्था बन्दै गएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘विगतमा लकडाउनका कारण लामो समय सेयर बजार बन्द भए पनि त्यसपछि खुलेको बजार बढ्दो अवस्थामा छ,’ उनले भने, ‘सेयर बजारमा लकडाउनको सकारात्मक असर देखियो ।’ सेयर बजार प्रविधिमैत्री हुँदै गएको, नयाँ कम्पनीहरू सूचीकृत भइरहेको, ब्याजदर घट्दै गएकोलगायत कारण सेयर कारोबारमा बढोत्तरी आइरहेको उनले दाबी गरे । आजको कान्तिपुर दैनिकबाट