Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सरूवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि

सरूवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि

दैनिकी न्यूज

३१, श्रावण २०७७
सरूवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि
images

खोटाङ । विराटनगरबाट सरूवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरूवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

सरूवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

‘सरूवा भएर खोटाङ आएलगत्तै उनीहरू सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ’, उनले भने, ‘साउन २९ गते पिसिआर परीक्षण गर्न उनीहरूसँगै १३ जनाको स्वाब संकलन गरेर पठाइएकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।’

संक्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई/दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरूष छन्।

संक्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ।

जिल्ला बाहिरबाट सरूवा भएर आएकालाई पिसिआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।

दश स्थानीय तह रहेको जिल्लामा ६ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्ख्या १९ पुगेको छ । रासस

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - १८:५५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology