Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बिहीबारदेखि बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

बिहीबारदेखि बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

दैनिकी न्यूज

२३, आषाढ २०७७
बिहीबारदेखि बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
images

काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बढीको जोखिम बढी हुने जनाएको छ। ती क्षेत्रमा पूर्व तयारीमा जुट्न सबैमा आग्रह गरिएको छ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस छ। रासस

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १६:४०:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology