काठमाडौँ । राजधानी काठमाडौँको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
बुधबार राति ११ बजे एकाएक ठूलो भ्वाङसँगै सडक भासिएको स्थानीय बासिन्दा शङ्कर कार्कीले जानकारी दिनुभयो । उहाँले रातको ११ बजे गाडीबाट सामान झार्दै थियौँ, त्यसै बेला एकाएक सडक भासिएको हो । सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले मध्य बानेश्वरको मुख्य सडक भासिएर ठूलो भ्वाङ नै परेको बताउनुभयो । उहाँले भासिएको ठाउँमा खानेपानी तथा ढलको ठूलो पाइप रहेको र ती पाइपबाट पानी चुहिन गई तलको माटो बगाउँदा ठूलो भ्वाङसहित सडक भासिएको हो भन्नुभयो ।
सो ठाउँमा फुटेको पाइप मर्मत गर्न खानेपानी र ढल व्यवस्थापन कार्यालयमा परिपत्र भइसकेको बताउँदै डिभिजन प्रमुख नेपालीले पाइप मर्मत लगत्तै सडक मर्मतको काम हुने बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले मध्य बानेश्वरमा सडक भासिएको ठाउँमा कुनै सवारी दुर्घटना हुन नदिन सडक मर्मत नभएसम्म ट्राफिक प्रहरीको निरन्तर उपस्थिति रहने सवारी आवागमनको व्यवस्थापन गरिने जानकारी दिनुभयो ।
गोरखापत्र दैनिकमा खबर छ ।