Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बन्दाबन्दी अवधिमा रोकिएको फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

बन्दाबन्दी अवधिमा रोकिएको फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

दैनिकी न्यूज

२, आषाढ २०७७
बन्दाबन्दी अवधिमा रोकिएको फर्म दर्ता र नवीकरण पुनः सञ्चालन
images

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम सोमबारदेखि पुनःसञ्चालन गरेको छ । विभागले सोमबारदेखि फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाका लागि विभागको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ ।

आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ । साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिनुभयो । “व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मेल गरेपछि हामी व्यवसायीलाई सबै कागजपत्र लिएर आउन आग्रह गछौँ, आवश्यक काजगपत्र नपुगेर कार्यालयबाट फर्कन भन्दा मेल गर्दा सहज हुन्छ भन्ने उद्देश्यले व्यवसायीलाई मेल गर्न आग्रह गरेका हौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आजदेखि कार्यालय सञ्चालन गरेर विभागअन्तर्गत रहेका शाखाहरु विभिन्न दिनमा खुला हुने गरी कामको बाँडफाँट गरिएको छ । विभागले आइतबार, मङ्गलबार र शुक्रबार रु ६० लाखभन्दा कम पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार रु ६० लाखभन्दा माथि पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुने जनाइएको छ । यसैगरी बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता÷नवीकरण संशोधनलगायत सेवा प्रवाह हुने जनाइएको छ ।

विभागबाट हुने कार्यका लागि कानून व्यवसायी, व्यवसायीका साथी वा व्यवसायीसँग अन्य सदस्य आवश्यक नपर्ने र उनीहरुलाई प्रवेश निषेध गरिएको जनाइएको छ । विभागले बजार अनुगमनका क्रममा कारवाहीस्वरुप जरिवाना गरिएका फर्मको शुल्क बुझाउन उपभोक्ता सहायतासम्बन्धी कार्य तथा निकासीपैठारी इजाजतसम्बन्धी कार्य सार्वजनिक बिदाबाहेकका दिनमा दैनिक सञ्चालन भएको जनाएको छ । रासस

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०७:२९:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology