Logo

शनिवार, कार्तिक १ गते २०८३

images

लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

दैनिकी न्यूज

३२, जेठ २०७७
लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख
images

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले लकडाउनको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन्। विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागेका थिए।

यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ। उप्रेती आफैंले पनि रु १५ लाखको खरबुजा बिक्री गरेको बताए। हरेक घरले कम्तीमा एक लाख रुपैयाँ आम्दानी गरेको उप्रेतीले बताए।

डिएण्डडी बायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौं आर्जन गरेको देखेर सिको गर्दै उनका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन्। उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट रु ५० लाख आम्दानी भएको छ।

डिएण्डडी बायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए। विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो। किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गरेका थिए।

रोपेको ९० दिनमै खरबुजा फल्छ। गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको खरबुजा यसपालि लकडाउनका कारण प्रतिकेजी रु ३० मा बिक्री गर्नुपरेको थियो। तैपनि किसान नाफामै रहे। लकडाउन नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ। उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो।

उप्रेतीले यस वर्ष ६० हजार खरबुजाको बिरुवा बिक्री गरेका थिए। उनको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए। रासस

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - ०७:५१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology