Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कर्मचारीको तलब धान्न मुस्किल पर्दै, राजस्वको तुलनामा खर्च धेरै

कर्मचारीको तलब धान्न मुस्किल पर्दै, राजस्वको तुलनामा खर्च धेरै

दैनिकी न्यूज

३०, जेठ २०७७
कर्मचारीको तलब धान्न मुस्किल पर्दै, राजस्वको तुलनामा खर्च धेरै
images

काठमाडौं । लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन) ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ६० अर्ब ८० करोड ६९ लाख ९६ हजार ७ सय ६१ रुपैयाँ आम्दानी गरेको छ । आम्दानी गत २६ जेठसम्मको भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले गत २६ जेठसम्म ८ खर्ब ३९ अर्ब ८१ करोड ३२ लाख ५५ हजार ३ सय रुपैयाँ कुल खर्च गरेको छ । सोही अवधिमा २० अर्ब ९९ करोड ३७ लाख ४० हजार रुपैयाँ बचतमा रहेको महालेखा नियन्त्रण कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिए । उनले लकडाउनकै कारण विगतका वर्षमा जस्तो अहिले विकास खर्च र राजस्व संकलन नभए पनि मुलुकको सरकारी खर्च समान्य अवस्थामा नै रहेको बताए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले गत ११ चैतदेखि निरन्तर जारी राखेको लकडाउनदेखि अहिलेसम्म मुलुकभरको सम्पूर्ण आर्थिक गतिविधिमा अवरोध पुगेको छ भने व्यापार व्यवसाय ठप्प छन् । जसका कारण अहिले सरकारी राजस्व खाता घटेको छ । आर्थिक कारोबार ठप्प भएकाले विगतका वर्षमा जस्तो चालु आर्थिक वर्षको असार मसान्त समाप्त हुने समय नजिकिने बेलामा समेत मुलुकको राजस्व उठ्न सकेको छैन । अहिले राजस्वको तुलनमा खर्च अत्यधिक बढी छ ।

राजस्वको तुलनामा चालु खर्च एवं प्रशासनिक खर्च बढी भए त्यसलाई राजस्व खाता घाटा भनिन्छ । अहिले राजस्व खाता घाटा उन्मुख हुँदै गएको देखिन्छ । किनकि लकडाउनअघि राजस्व खाता १ खर्बभन्दा बढीले बचत रहेकामा अहिले त्यो खुम्चिएर जम्मा १ अर्ब ६६ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबार सरकारले जम्मा १ अर्ब ६६ करोड २० लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । सरकारले विभिन्न शीर्षकमा गरी सो राजस्व संकलन गरेको हो । तर, खर्च भने सोही दिनमा ६ अर्ब ३६ करोड ३८ लाख रुपैयाँले बढेको थियो । मंगलबार संकलन भएको राजस्व र खर्च विवरणका आधारमा ४ अर्ब ७ करोड १८ लाख रुपैयाँ घाटा भएको हो ।

यसरी हेर्दा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिन्छ । पछिल्लो समय कोरोना संक्रमण बढेका कारण खर्च गर्ने ठाउँ बढेका छन् । जसले पनि चालु खर्च बढाएको छ । सरकारी ढुकुटी अहिले बजेटमा समावेश कार्यक्रमबाहेक कोरोना भाइरसको संक्रमण रोकथाममा खर्च भइरहेको छ । संक्रमण परीक्षणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भत्ता शतप्रतिशतसम्म बढाइएको छ । सामान्यतः राजस्वले चालु खर्च धान्नैपर्छ । तर, सरकारले अनावश्यक कार्यक्रममा खर्च कटौती नगरेकाले अहिलेको राजस्वले चालु खर्च धान्न मुस्किल पर्ने देखिन्छ ।

अनावश्यक खर्च कटौतीमा देखिएको बेवास्ताले अब सरकार आर्थिक संकटमा फस्न लागेको सम्बन्धित अर्थविद् एवं सरोकारवालाको भनाइ छ । अर्थविद्हरू सरकारले अब अर्थ व्यवस्था थेग्नका लागि मात्रै पनि अप्रिय निर्णय गर्नुपर्ने बताउँछन् । सरकारको राजस्वभन्दा चालु खर्च बढ्ने हो भने आगामी दिनमा कर्मचारीलाई खुवाउने तलब नै अपुग हुन सक्ने उनीहरूको दाबी छ ।

मुलक विकास निर्माणका लागि वैदेशिक ऋण तथा सहायतामा भर परे पनि चालु खर्चका लागि विदेशी ऋणमा भरपर्नु राम्रंो होइन । अन्य मुलुक पनि संकटमा परेकाले वैदेशिक ऋण पनि अत्यन्त कम मात्रै जुट्छ ।

सरकारले अनावश्यक रूपमा रहेका सरकारी कार्यालय र कर्मचारी कटौती जस्ता निर्णय गर्नुपर्ने अर्थविद्हरूको सुझाव छ । कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेकाले लकडाउन कहिलेसम्म लम्बिन्छ र आर्थिक गतिविधि कहिलेसम्म रोकिन्छ भन्ने केही निश्चित छैन । त्यसैले सरकारले मितव्ययी बनेर अर्थतन्त्र धान्न जरुरी रहेको अर्थविद्हरूको टिप्पणी छ । उनीहरूका अनुसार फजुल खर्च भारी रूपमा कटौती गर्न नसके विकास निर्माणमा खर्च गरी पुँजी निर्माण गर्नुपर्ने रकम अब कर्मचारीको तलब तथा भत्तामा खर्चनुपर्ने अवस्था आउनेछ ।

करिब तीन महिनाको लकडाउनका कारण अहिले मुलुकमा आयात घटेको छ भने कोरोना संक्रमण रोक्न सरकारले निरन्तर खर्च गर्नुपर्ने भएको छ । जसका कारण सरकारको राजस्वले सामान्य खर्च धान्नसमेत मुस्किल भएको छ । यसैगरी, संघीयता कार्यान्वयनका लागि थपिएका कर्मचारी, अत्यधिक सेना प्रहरी भर्नाले सरकारको खर्च निकै बढाएको अवस्था छ । अनुत्पादक क्षेत्रमा भएको यस्तो खर्चले पुँजी निर्माण गर्न सक्दैन । अब सरकारले मन्त्रालय तथा विभागको संख्या घटाउँदै कर्मचारी कटौती गर्नुपर्ने अवस्था देखिएको अर्थविद्हरूको सुझाव छ ।

सरकारले गत चैतसम्म १ खर्बभन्दा बढी ऋण लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा सरकारले ५५ अर्ब ४२ लाख आन्तरिक ऋण लिएको छ । ४५ अर्ब ७८ करोड रुपैयाँ भने बाह्य ऋण परिचालन भएको छ । चैत मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा सरकारका विभिन्न खातामा १ सय ६२ अर्ब ३१ करोड रुपैयाँ नगद मौज्दात छ । चालु आवमा व्यापार घाटा निरन्तर घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । राजस्व चुहावट र अनौपचारिक अर्थतन्त्र नियन्त्रणतर्फ सरकार लाग्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

राजानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०६:२१:११ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # money

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology