ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलमा विभत्स अवस्थाको एक पुरुषको शव फेला परेको छ ।
काठमाडौं जिल्ला सतुंगल घरभई हाल टौखेल बस्ने वर्ष ३८ को अमित शाहीको धारिलो हतियारले शरिरका विभिन्न अंग काटिएको अवस्थामा बुधबार विहान शव फेला परेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनका अनुसार मृतक शाहीको दुवै हात र घाँटी काटिएको छ । उनले भने, ‘मृतकको लाशको प्रकृति हेर्दा शंकास्पद छ, अनुसन्धान गर्दैछौं, अहिले नै यसै भन्न सकिदैन ।’ थप अनुसन्धान गर्न कुकुर पनि ल्याइएको उनले बताए । मृतक शाहीको नजिक मासु काट्न प्रयोग हुने दाउ पनि फेला परेको छ ।
बुधबार विहान करिब साढे १ बजेतिर प्रहरीलाई घटनाबारे थाहा भएको र थाहा पाउनसाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रहरी निरीक्षक अरुण कुमार भट्टराई नेतृत्वको प्रहरी घटनास्थलमा पुगेको थियो ।
अहिले घटनास्थलमा सातदोबाटोका डीएसपी शर्मा, मुद्दा शाखाका प्रहरी, कुकुर शाखाका प्रहरी, बाडेगाउँका प्रहरी रहेका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । घटनास्थल महानगरीय प्रहरी प्रभाग एक किलोमिटर पूर्वमा रहेको छ ।