काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेकाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा पनि भारी वर्षासँगै हिमपातको सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुनसक्ने महाशाखाको भनाइ छ।
महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपातको सम्भावना औँल्याएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ।
सम्भावित वर्षालाई ध्यानमा राख्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ। ती क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा बस्न पनि अनुरोध गरिएको छ।
वर्षाका कारण चिसो बढ्न सक्ने, पहिरो खस्ने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।