काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा बिहीबारदेखि करिब ३६ घण्टासम्म भारी वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद् विनोद पोखरेलले विभिन्न मौसम मोडेलको विश्लेषणका आधारमा यस्तो पूर्वानुमान गरेका हुन्।
उनका अनुसार शुक्रबारदेखि केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको समेत जोखिम देखिएको छ। वर्षाको सम्भावित मात्रा, अवधि र जोखिम क्षेत्रबारे उनले नक्सासहित विवरण सार्वजनिक गरेका छन्।
पोखरेलले चारवटा मौसम मोडेलका आधारमा दैनिक तथा समग्र वर्षाको अनुमान र सम्भावित जोखिमको विश्लेषण गरेका हुन्। ती मोडेलका आधारमा कुन क्षेत्रमा कति वर्षा हुन सक्छ र कहाँ कस्तो मौसमी जोखिम देखिन सक्छ भन्ने आकलन गरिएको छ।
यद्यपि, यो प्रारम्भिक पूर्वानुमान भएकाले वर्षा हुने स्थान, मात्रा र समय परिवर्तन हुन सक्ने उनले उल्लेख गरेका छन्। त्यसैले मौसमको पछिल्लो विवरणमा ध्यान दिनु आवश्यक छ।