काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीको पश्चिम–मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ।
हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। तराईका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही स्थानमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुनसक्नेछ।
यस्तै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ। मधेससहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।