काठमाडौं । ओप्सना फिल्म्सको आयोजनामा आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व एवं विशिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा चाबहिलस्थित चलचित्र विकाश बोर्डको सभा हलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । ‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि आयोजना हुँदै आईरहेको ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ मा पब्लिक च्वाइस समेत गरी गीत–सङ्गीत एवं चलचित्र क्षेत्रका कूल २४ विधाका सर्जक–कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।
समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामा ‘जीवन साधना सम्मान’ बाट एवं वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डे ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित भएका थिए भने गीत–सङ्गीत एवं चलचित्र क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने अन्य १२ जना सर्जक एवं कलाकारहरुलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो । समारोहमा अवार्ड जुरी सदस्यका रुपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार÷सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशकरकलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेको कुरा जानकारी गराईएको थियो । कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिईन् भने अतिथिहरुको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गरेकी थिईन् । समारोहमा जुरी सदस्यहरुका साथै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक/कलाकार हस्त लिबाङ, गीतकार डी.आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्यबहादुर मगर, सञ्चारकर्मीहरु माधवराज खरेल, तुलसी गिरी ‘भावुक’ आदि अतिथिका रुपमा उपस्थित रहेका थिए ।
कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मा.वि., एसवाई कन्सल्टेन्ट्स लगायतले प्रायोजन गरेका थिए भने सपोर्टर संस्थाहरुमा बुन्चट कलेक्शन र सेवा रेकर्डिङ रहेका थिए । यसैगरी इन्टरनेट पार्टनरमा डिस होम रहेको थियो भने रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेका थिए ।