दोहा । मातृभूमिमा बाढीले घर–आँगन उजाडिरहेका बेला कतारमा पसिना बगाइरहेका नेपालीहरूले आफ्नो कमाइको केही हिस्सा पीडितका लागि छुट्याएर मानवीयताको उदाहरण प्रस्तुत गरेका छन । कतारस्थित एसियाना दोहोरी गजल रेस्ट्रो बारमा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो कमाइबाट रकम संकलन गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका छन ।
एसियानाका जनरल म्यानेजर संजिव कुमार गुप्ताको पहलमा गुप्तासहित रेस्टुराँमा कार्यरत कर्मचारीहरूले आफ्नो आम्दानीको केही हिस्सा योगदान गरेर रकम जुटाएका हुन्। देश प्राकृतिक विपत्तिको चपेटामा परेका बेला प्रवासमा बसेर टाढाबाट पीडा हेरेर बस्नुभन्दा आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाबाट अभियान अघि बढाइएको गुप्ताले बताए।
नेपालमा बाढीले जनधनमा ठूलो क्षति पुर्याएको खबर कतारमा रहेका नेपालीमाझ पुगेपछि एसियाना परिवारले पनि पीडितको पक्षमा उभिने निर्णय गरेको थियो। दैनिक कामबाट आर्जन गरेको आम्दानीमध्ये केही रकम छुट्याएर कर्मचारीहरूले सामूहिक रूपमा सहयोग जुटाएका हुन्।
जनरल म्यानेजर गुप्ताले देशले कठिन परिस्थिति सामना गरिरहेका बेला प्रवासमा रहेर भए पनि आफूहरूले सानो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अभियानमा सहभागी सबै कर्मचारीलाई धन्यवाद दिएका छन्। उनले सहयोगको मूल्य रकमको आकारले निर्धारण नगर्ने बताए।
“देशमा यस्तो विपद् परेको समयमा प्रवासमै बसेर भए पनि हामीले आफ्नो तर्फबाट सानो सहयोग गर्न खोजेका हौँ। यो अभियानमा साथ दिने एसियाना परिवारका सबै कर्मचारीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,” गुप्ताले भने।
उनका अनुसार आफ्नो मेहनतले कमाएको आम्दानीबाट मनदेखि गरिएको सहयोग नै सबैभन्दा महत्वपूर्ण हुन्छ। संकटका बेला करोडौँ रुपैयाँ सहयोग गर्ने क्षमता सबैसँग नहुन सक्छ, तर आफूले सकेको थोरै रकम छुट्याएर पीडितको साथमा उभिन सकिने उनको भनाइ छ।
“सहयोग सानो ठूलो हुँदैन। आफूले काम गरेर, पसिना बगाएर कमाएको पैसाबाट मनदेखि गरिएको सहयोग ठूलो हुन्छ। अहिले देशलाई परेको यो विपद्मा विश्वभर रहेका नेपालीले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ,” गुप्ताले आग्रह गरे।
गुप्ताले कतारमा रहेका नेपाली मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पनि भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन्। प्रवासमा रहेका नेपालीले पठाउने सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्ने उनले बताए।
भोटेकोशी क्षेत्रमा आएको बाढीले प्रभावित नागरिकका लागि तत्काल राहतसँगै पुनर्स्थापनाको चुनौतीसमेत थपिएको छ। बाढीका कारण घर, सम्पत्ति, व्यवसाय तथा जीविकोपार्जनका आधार गुमाएका परिवारलाई खाद्यान्न, आवास, स्वास्थ्य तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता छ। तत्कालीन उद्धार र राहतपछि प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडित परिवारको जीविकोपार्जन पुनःस्थापना अझ ठूलो चुनौती बन्नेछ।
यस्तो अवस्थामा सरकारको राहत तथा उद्धार प्रयाससँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र प्रवासी नेपालीबाट हुने सहयोगले महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर सहयोग रकम मात्र महत्वपूर्ण नभई त्यसको स्रोत, भावना र सही ठाउँमा सदुपयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ। एसियानाका कर्मचारीले आफ्नै कमाइबाट रकम छुट्याएर सहयोग गर्नु यही मानवीय उत्तरदायित्वको उदाहरण हो।
गुप्ताले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले प्रभावित परिवारको पीडामा आफूहरू साथमा रहेको बताउँदै उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
एसियाना दोहोरी गजल रेस्टुराँ बारमा कार्यरत कर्मचारीको यो सहयोगले प्रवासमा श्रम गर्ने नेपालीको अर्को पाटो पनि उजागर गरेको छ। आफ्नो परिवारको आवश्यकता पूरा गर्न विदेशमा काम गरिरहेका कर्मचारीले आफ्नो आम्दानीबाट केही हिस्सा देशका पीडित नागरिकका लागि छुट्याउनु सामान्य आर्थिक सहयोगभन्दा माथिको कुरा हो। यसमा श्रम, संवेदना र मातृभूमिप्रतिको जिम्मेवारी जोडिएको छ।