काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमतीका हिमाली क्षेत्रका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।
कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।