काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनर्स्थापनामा योङ कम्युनिस्ट लिग (वाईसिएल) ले सक्रियता बढाएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा श्रम अभियान सञ्चालन गर्दै आएको वाईसिएलले घाइते तथा विस्थापितलाई होल्डिङ सेन्टरसम्म पुर्याउने, खाना खुवाउने तथा आवश्यकता अनुसार काठमाडौंसम्म ल्याउने कामसमेत गरेको नुवाकोट वाईसिएलअध्यक्ष जलन गजुरेलले बताए । गजुरेलका अनुसार संगठनको प्रदेश तथा केन्द्रीय संरचनासँग समन्वय गरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बृहत् रक्तदान कार्यक्रमसमेत सम्पन्न भएको छ ।
बाढीपहिरोका कारण प्रभावित क्षेत्रतर्फको सडक सम्पर्क अवरुद्ध भएपछि वाईसिएलले वैकल्पिक सडकको खोजीसमेत गरेको छ। त्रिशूलीपारि कोलनी, तुप्चे, बेत्रावती हुँदै रसुवा पुग्ने सम्भावित मार्ग तथा लच्याङ, सरमथली, कालिकास्थान हुँदै धुन्चेतर्फ जाने वैकल्पिक सडकको खोजी गरिएको संगठनले जनाएको छ।
त्यस्तै, विभिन्न संघसंस्थासँग समन्वय गरी वाईसिएलको पहलमा विदुर, कोलनी, जुगेटार, आगुटार, तुप्चेलगायतका स्थानमा राहत वितरण तथा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गरिएको छ। प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य राहत सामग्री उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको वाईसिएलले जनाएको छ।
देशभर वाईसिएल परिचालन गर्ने तयारी
खोज, उद्धार तथा श्रम अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन जिल्ला प्रशासन, स्थानीय तह तथा सम्बन्धित पीडितहरूसँग समन्वय गरी देशभर वाईसिएल परिचालन गर्ने तयारी गरिएको छ। वाईसिएलले स्थानीय आवश्यकता पहिचान गरेर खोज तथा उद्धार, सरसफाइ, राहत वितरण र पुनर्स्थापनाका काममा जनशक्ति परिचालन गर्ने जनाएको छ।
सुन, चाँदीदेखि ल्यापटप र नगदसम्म सम्बन्धित व्यक्तिलाई फिर्ता
वाईसिएलको अभियानका क्रममा मानवीय सेवासँगै हराएका तथा भेटिएका महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने कामसमेत भइरहेको छ। गजुरेलका अनुसार हालसम्म खोज, उद्धार, श्रम तथा सरसफाइ अभियानका क्रममा करिब ५० तोला सुन, ७० तोला चाँदी, ल्यापटप, नगदलगायतका महत्वपूर्ण सामग्री फेला पारिएको छ। ती सामग्री सम्बन्धित व्यक्तिको पहिचान गरी हस्तान्तरण गरिएको वाईसिएलले जनाएको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै खोज तथा उद्धार अभियानलाई व्यवस्थित बनाउने, प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गर्ने र भेटिएका महत्वपूर्ण सामग्री सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्याउने कामलाई अभियानकै निरन्तरता दिइने वाईसिएलको भनाइ छ।