काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। उनले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
पुडासैनीले नेपाल आएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरे। उनी आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा नेपाल आएका थिए।
देश विपत्तिमा परेका बेला विदेशमा बसेर चुप लागेर बस्न नसकेको पुडासैनीले बताए। मातृभूमिका लागि सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको उनको भनाइ छ। उनले विदेशमा रहेका नेपालीलाई पनि विपत्तिको समयमा आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।
पुडासैनी दुबईमा हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस सञ्चालन गर्दै आएका छन्। करिब १९ वर्षको प्राविधिक अनुभवपछि उनले व्यवसाय सुरु गरेका हुन्।
हेटौँडाबाट सुरु भएको उनको प्राविधिक यात्रा दुबईसम्म पुगेको हो। अहिले उनको कम्पनीले भूमिगत पाइपलाइन, फोहोर पानी व्यवस्थापन, संरचना मर्मत र औद्योगिक सरसफाइका क्षेत्रमा काम गरिरहेको छ।
सन् २०१५ मा दुबईमा हाइड्रोजेट स्थापना भएको थियो। कम्पनीले सुरुमा अमेरिका, बेलायत, जर्मनी, पोल्यान्ड, नेदरल्यान्ड्स र टर्कीलगायत देशबाट उपकरण आयात गरेर सेवा दिएको थियो। पछि पुडासैनीले आफ्नै आवश्यकताअनुसार उपकरण विकास गर्न थाले। अहिले कम्पनीले विभिन्न प्रकारका पाइपलाइनसम्बन्धी उपकरण उत्पादन गरिरहेको छ।
कम्पनीले गेट भल्भ, प्रेसर रिड्युसिङ भल्भ, एयर रिलिज भल्भ, बटरफ्लाई भल्भ र रिपेयर क्ल्याम्पलगायत उपकरण तयार गराउँदै आएको छ। केही उत्पादनमा पाँच वर्षसम्मको वारेन्टीसमेत दिने गरिएको पुडासैनीले बताए।
हाइड्रोजेटले पाइपलाइन सफाइ र मर्मतको काम पनि गर्छ। ढल, वर्षाको पानी, फोहोर पानी र सिँचाइका पाइपमा जमेको फोहोर हटाउने काम कम्पनीले गर्दै आएको छ।
कंक्रिट पाइपभित्र पसेर कडा भएका अवस्थामा पनि कम्पनीले विशेष उपकरण प्रयोग गरेर सफाइ गर्ने गरेको छ। कम्पनीले भवन र संरचनाको चर्काइ, चुहावट र सिपेज मर्मतका लागि रसायन तथा इन्जेक्सन प्रविधि प्रयोग गर्दै आएको छ। आवश्यकताअनुसार मर्मत रसायन विकासमा समेत काम गरेको पुडासैनीले बताए।
हाइड्रोजेटले ट्रेन्चलेस प्रविधिमा पनि काम गरिरहेको छ। यस प्रविधिबाट सडक वा जमिन धेरै नखनी भूमिगत पाइपलाइन मर्मत गर्न सकिन्छ।
कम्पनीले सीआईपीपी रिलाइनिङ, यूभी, ब्लु–लाइट तथा स्टीम क्युरिङ, पोइन्ट प्याच, रोबोटिक सीसीटीभी निरीक्षण, रासायनिक इन्जेक्सन र जीआरपी लाइनमेन्टजस्ता प्रविधि प्रयोग गर्दै आएको छ।
पुडासैनी जोखिमपूर्ण काममा रोबोटिक प्रविधि प्रयोग गर्ने योजनामा छन्। गहिरा च्याम्बर, बन्द स्थान र पानीमुनिका काममा मानिसको सट्टा रोबोट प्रयोग गर्ने उनको योजना छ।
हाइड्रोजेटले यूएईबाट आफ्नो सेवा ओमानसम्म विस्तार गरिसकेको छ। कतारमा व्यवसाय विस्तारको प्रक्रिया अघि बढिरहेको छ। साउदी अरेबियामा प्रवेशको तयारी भइरहेको छ। बहराइन र कुवेतलाई पनि सम्भावित बजारका रूपमा हेरिएको छ।
कम्पनीले चीनका एक सयभन्दा बढी कारखानासँग कारोबार गर्दै आएको जनाएको छ। अमेरिका, बेलायत, टर्की र युरोपेली मुलुकबाट पनि उपकरण आयात गर्ने गरिएको छ।
नेपाल पनि पुडासैनीको व्यवसाय विस्तारको योजनामा छ। नेपालमा सहरीकरण बढेसँगै ढल व्यवस्थापन र भूमिगत पाइपलाइन मर्मतको आवश्यकता बढेको उनको भनाइ छ। वातावरणमैत्री र लागतप्रभावी प्रविधि नेपालमा भित्र्याउने उनको योजना छ।
पुडासैनीले आफ्नो व्यवसायको मुख्य आधार गुणस्तर, गति र लागतलाई मानेका छन्। गुणस्तरमा सम्झौता नगरी छिटो र कम लागतमा सेवा दिने उनको प्राथमिकता छ।
उनका कम्पनीमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफ्रिकी मुलुक र यूएईका जनशक्ति कार्यरत छन्। आफ्नो सफलता एक्लो नभएको पुडासैनी बताउँछन्।
उनका अनुसार विदेशमा सिकेको सीप र अनुभवलाई व्यवसायमा बदल्न सकिन्छ। नेपाली प्राविधिक जनशक्तिले पनि विश्व बजारमा आफ्नो पहिचान बनाउन सक्ने उनको विश्वास छ।
व्यवसाय विस्तारसँगै पुडासैनीले सामाजिक जिम्मेवारीलाई पनि प्राथमिकता दिएका छन्। बाढीबाट देश प्रभावित भएका बेला नेपाल आएर उनले ५१ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेका हुन्।
उनको प्राविधिक यात्रा हेटौँडाबाट सुरु भएर दुबई हुँदै खाडी र विश्व बजारसम्म पुगेको छ। अब आफ्नै प्रविधि विकास गर्ने, रोबोटिक प्रणाली प्रयोग गर्ने र नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा स्थापित गर्ने उनको लक्ष्य छ।