Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

चापागाउँ च्याउ उत्पादन सेवा सहकारीको २५औँ स्थापना दिवस तथा साधारणसभा सम्पन्न

चापागाउँ च्याउ उत्पादन सेवा सहकारीको २५औँ स्थापना दिवस तथा साधारणसभा सम्पन्न

दैनिकी न्यूज

१४, भाद्र २०८३
चापागाउँ च्याउ उत्पादन सेवा सहकारीको २५औँ स्थापना दिवस तथा साधारणसभा सम्पन्न
images

ललितपुर । गोदावरी नगरपालिका–१० स्थित चापागाउँ च्याउ उत्पादन सेवा सहकारी संस्था लिमिटेडको २५औँ स्थापना दिवस तथा २४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

च्याउ खेतीमा संलग्न कृषकलाई संगठित गर्दै शेयर, बचत तथा ऋण कारोबार सञ्चालन गर्दै आएको सहकारीले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा स्थापना दिवस तथा साधारणसभा आयोजना गरेको हो। कार्यक्रम संस्थाका ज्येष्ठ सदस्य पशुपति दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष चित्रराज तिमल्सिनाले सहकारीले २५ वर्षसम्म निरन्तरता पाउनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले नयाँ सञ्चालक समितिले सक्रियताका साथ काम गर्दै संस्थालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

संस्थाका अध्यक्ष श्यामकृष्ण सापकोटाले च्याउ खेतीमा संलग्न कृषकलाई एकताबद्ध गर्दै सहकारी अघि बढिरहेको बताए। शेयर सदस्यको आवश्यकता र सुझावलाई आधार बनाएर संस्थाका नीति तथा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो।

अध्यक्ष सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म सहकारीमा ५ सय ३५ जना शेयर सदस्य रहेका छन्। सदस्यबाट १ करोड २६ लाख ६३ हजार ९ सय रुपैयाँ शेयर पूँजी संकलन भएको छ। सो अवधिमा सहकारीले ६ करोड ९७ लाख ९६ हजार १ सय २८ रुपैयाँ कुल कारोबार गरेको छ भने ७९ लाख २६ हजार ३६ रुपैयाँ संस्थागत पूँजीकोष कायम गरेको छ।

कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक केशव सापकोटाले सहकारीले सात प्रकारका बचत सेवा सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार सहकारीले हालसम्म ५ करोड ८५ लाख ५१ हजार रुपैयाँ ऋण लगानी गरेको छ।

लेखा तथा सुपरिवेक्षण समितिकी संयोजक सरस्वती फूँयाल दुलालले सहकारीको वित्तीय अनुशासन र कारोबारलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन्।

साधारणसभाका अवसरमा उच्च शिक्षा हासिल गर्ने शेयर सदस्यका छोराछोरी, असल कारोबार गर्ने शेयर सदस्य तथा संस्थाका पूर्वसञ्चालकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा कञ्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज महत, जिल्ला सहकारी संघ ललितपुरका पूर्वकोषाध्यक्ष रुपेश तिमल्सिना, पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज घिमिरे र संस्थाका पूर्वअध्यक्ष चिरीकाजी देसारलगायतले शुभकामना तथा धारणा व्यक्त गरेका थिए।

साधारणसभाले श्यामकृष्ण सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। उपाध्यक्षमा निर्मला रिजाल, सचिवमा कमला हुमागाईँ र कोषाध्यक्षमा केशव सञ्जेल चयन भएका छन्।

त्यस्तै, सदस्यमा बिन्दा तिमल्सिना, चण्डिका लम्साल, सविता दुलाल तिमल्सिना, विश्वनाथ तिमल्सिना र सविना न्यौपाने घिमिरे चयन भएका छन्।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा सरस्वती फूँयाल दुलाल तथा सदस्यमा ज्ञानबहादुर खड्का र कमला घिमिरे दाहाल चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष श्यामकृष्ण सापकोटाले सबैको सल्लाह, सुझाव र सहकार्यमा सहकारीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। च्याउ खेतीमा संलग्न कृषक तथा शेयर सदस्यको आर्थिक र व्यावसायिक हितलाई प्राथमिकतामा राखेर संस्थाको विकासमा जोड दिइने उनले बताए।

निर्वाचन समितिका संयोजक एकप्रसाद बजगाईँले संस्थाको नीतिगत व्यवस्था र निर्धारित मापदण्डअनुसार निर्वाचन प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - ०९:१५:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology