Logo

सोमवार, आश्विन १९ गते २०८३

images

भोटेकोसी बाढीबाट पत्रकार र सञ्चारमाध्यमसमेत प्रभावित, उद्धार र राहतमा ध्यान दिन महासंघको आग्रह

भोटेकोसी बाढीबाट पत्रकार र सञ्चारमाध्यमसमेत प्रभावित, उद्धार र राहतमा ध्यान दिन महासंघको आग्रह

दैनिकी न्यूज

१२, भाद्र २०८३
भोटेकोसी बाढीबाट पत्रकार र सञ्चारमाध्यमसमेत प्रभावित, उद्धार र राहतमा ध्यान दिन महासंघको आग्रह
images

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले दुःख व्यक्त गरेको छ।

महासंघले बाढीमा फसेकाहरूको उद्धार, बेपत्ताको खोजी तथा घाइतेहरूको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै संकटपूर्ण अवस्थामा राहत तथा उद्धार कार्यमा सक्रियतापूर्वक जुट्न सबै सरोकारवाला र सहयोगी मनहरूलाई आग्रह गरेको छ।

बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको अवस्था अध्ययन गरी सार्वजनिक गर्ने निर्णयअनुसार प्रदेशअन्तर्गतका सम्बन्धित जिल्ला शाखासँग समन्वय गरी प्रारम्भिक विवरण संकलन गरिएको महासंघले जनाएको छ।

अध्यक्ष कृष्ण सारु मगरकाअनुसार नुवाकोटका पत्रकार निराजन पौडेलको परिवारका पाँच सदस्य सम्पर्कविहीन छन्। राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। त्यस्तै, नुवाकोटका पत्रकार किरण अधिकारीको विदुर–२, ढुंगे बजारस्थित घरमा क्षति पुगेको छ।

दोलखाका पत्रकार टेकराज थामी समाचार सङ्कलनका क्रममा तिब्बततर्फ गएको र केरुङबाट सम्पर्कविहीन भएको परिवारबाट जानकारी प्राप्त भएको महासंघले जनाएको छ। नुवाकोटका पत्रकार शिव देवकोटाको ६५३८ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल देविघाटबाट बाढीले बगाएको छ।

त्यस्तै, रेडियो नुवाकोटको विद्युत्, फाइबर र ब्याकअपमा क्षति पुगेको छ। रेडियो सिद्धेश्वर, गजवा रेडियोमा आंशिक सञ्चालन भइरहेको तथा रेडियो शेरी, मिक्स एफएम विद्युत् अवरुद्ध भई बन्द अवस्थामा रहेको विवरणमा उल्लेख छ। रसुवा एफएम पनि विद्युत् अवरुद्धका कारण सञ्चालनमा नरहेको जनाइएको छ। धादिङका पत्रकार विपिन मल्ल ठकुरीको बैरेनी बजारस्थित घरमा क्षति पुगेको छ।

महासंघका अनुसार बाढी प्रभावित क्षेत्रमा पत्रकार तथा सञ्चारमाध्यमले प्रत्यक्ष रूपमा विभिन्न कठिनाइ भोगिरहेका छन्। कतिपय स्थानमा आवतजावतमा अवरोध, मानसिक तनाव तथा विद्युत् र इन्टरनेट सेवाको अभावका साथै समाचार संकलन, सम्प्रेषण र नियमित सञ्चार सेवा सञ्चालनमा समेत कठिनाइ भइरहेको बागमती प्रदेश समितिले जनाएको छ।

विपद्को विषम परिस्थितिमा पनि पत्रकारहरूले आफ्नो ज्यानको जोखिम मोलेर नागरिकलाई सही सूचना उपलब्ध गराउने जिम्मेवारी निर्वाह गरिरहेको भन्दै महासंघले प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण महासंघले गराएको छ। विद्युत् तथा इन्टरनेट सेवाको निरन्तरता, सञ्चार उपकरणको पहुँच तथा आवश्यक राहत, उद्धार र सहयोगका लागि सम्बन्धित सरोकारवालासँग आग्रह गरिएको छ।

महासंघले बाढीका कारण पत्रकार तथा सञ्चारमाध्यममा परेका समस्याबारे यथाशीघ्र जिल्ला शाखामार्फत वा सोझै प्रदेश समितिलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ। उक्त विवरण भदौ १२ गते शुक्रबार दिउँसो २ बजेसम्म प्राप्त विवरणमा आधारित रहेको समितिले जनाएको छ।

भोटेकोसी बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको अवस्था अध्ययन गर्न सचिव काजी श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १५:५२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology