काठमाडौं । रसुवाको उत्तरी क्षेत्रमा पर्ने चीनको तिब्बततर्फ भोटेकोसी नदीमा असर पार्न सक्ने गरी बनेको ताल फुटेको सूचना आएको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पुष्टि गरेका छन्।
गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षबाट आएको हो। उनका अनुसार उक्त क्षेत्र रसुवागढीबाट करिब १८ किलोमिटर माथि पर्छ।
‘करिब २० मिनेटअघि मात्रै चिनियाँ पक्षबाट ताल फुटेको म्यासेज आएको हो,’ अध्यक्ष तामाङले भने।
जिल्ला प्रशासन कार्यालय रसुवाले पनि चीनतर्फबाट ताल फुटेको जानकारी प्राप्त भएको जनाएको छ। प्रशासनले घटनाको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
ताल फुटेको सूचनापछि नेपाल प्रहरीले भोटेकोसी नदी आसपासका बासिन्दा, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीले तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएकाले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान अनुरोध गरेको छ।
यसअघि भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। सोही क्षेत्रमा पुनः ताल फुटेको सूचना आएपछि नदी तटीय क्षेत्रमा थप जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो।