Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

आज नागपञ्चमी पर्व मनाइँदै

आज नागपञ्चमी पर्व मनाइँदै

दैनिकी न्यूज

१, भाद्र २०८३
आज नागपञ्चमी पर्व मनाइँदै
images

काठमाडौं । नागको पूजाअर्चना गर्दै आज नागपञ्चमी पर्व मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो।

नागपञ्चमीका अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने परम्परा छ। नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायतका जीवबाट दुःख नहुने तथा अग्नि, मेघ र चट्याङको भयबाट समेत सुरक्षा मिल्ने धार्मिक विश्वास छ।

हिन्दु धर्ममा नागलाई भगवान् विष्णु र शिवसँग जोडेर श्रद्धा गरिन्छ। भगवान् शिवले नागलाई आफ्नो गलामा धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा शयन गर्ने धार्मिक मान्यताका कारण नागलाई दैवी शक्तिका रूपमा पूज्ने परम्परा रहँदै आएको छ।

नागपञ्चमीका दिन घरमा नागको तस्वीर टाँसेपछि खेतबारीमा खनजोत गर्न नहुने तथा नाग, सर्पलगायत घिस्रने जीवजन्तुलाई मार्न नहुने मान्यता पनि छ।

यस अवसरमा काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजाआजा गरिन्छ। श्रद्धालुले नागलाई दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादका रूपमा चढाउने गर्छन्।

नागपञ्चमीसँगै नेपाली समाजमा चाडपर्वको मौसमसमेत औपचारिक रूपमा सुरु भएको मानिन्छ।

images
प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - ०९:३६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology