काठमाडौं । नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास बिक्रीका लागि सातवटा बिक्री केन्द्र तोकेको छ। निगमका अनुसार ती केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास उपभोक्तालाई बिक्री गरिनेछ। निगमको सूचनाअनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास बिक्री हुनेछ।
बुढानीलकण्ठको पशु सेवा शाखा, चपलीबाट नेपाल, एचपी र भानु ग्यास बिक्री गरिनेछ। यस्तै, कीर्तिपुरस्थित राधास्वामी केन्द्रबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।
नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास बिक्री हुनेछ भने तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण गरिने निगमले जनाएको छ।
त्यसैगरी, चन्द्रागिरि नगरपालिका परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री हुनेछ। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट, सुगम र एसटीसी ग्यास बिक्री गरिनेछ।
निगमले ग्यास खरिद गर्न आउँदा उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ।
यसअघि शनिबार काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट ६ हजार ८०२ थान खाना पकाउने ग्यास बिक्री गरिएको थियो। नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ग्यास बिक्रीका लागि केन्द्र तोकेको थियो।
शनिबार टेकुस्थित निगम परिसरबाट सबैभन्दा बढी दुई हजार २९० थान ग्यास सिलिन्डर बिक्री भएको निगमले जनाएको छ। बबरमहल केन्द्रबाट एक हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२ र यातायात कार्यालय चाबहिलबाट ७२० थान ग्यास बिक्री भएको थियो।
त्यस्तै, बालाजुबाट ५०० तथा साल्ट ट्रेडिङको जडीबुटी र कालीमाटी काउन्टरबाट ३३० थान ग्यास बिक्री भएको निगमले जनाएको छ।