ललितपुर । एकै दिन ललितपुरका पाँच वटा स्थानमा चोरी गरेर फरार भएका एक युवकलाई प्रहरीले चोरीका सामानसहित प क्राउ गरेको छ।
ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धीस्थित रिना महर्जनको घरमा साउन २२ गते चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययन गर्ने क्रममा प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान गरेको हो।
प्रहरीका अनुसार सोही दिन थप चार ठाउँमा समेत चोरी गरी फरार रहेका गोदावरी नगरपालिका वडा नं. १४ टौखेलका ३३ वर्षीय सुरज महर्जनलाई मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प क्राउ गरिएको हो।
उनलाई बा ९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा रोकेर जाँच गर्दा ‘क्याट’ लेखिएको कालो झोलाभित्र चोरीका गरगहना र चोरीमा प्रयोग गरिएका विभिन्न औजार फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले महर्जनको साथबाट सुनजस्तो देखिने धातुका नौगेडी, हार, झुम्का, औँठी, सिक्री, तिलहरी तथा चुरा–बालासहितका गरगहना बरामद गरेको छ। त्यस्तै चाँदीजस्तो देखिने औँठी, हार, सिक्री, ब्रासलेट, पाउजु र अन्य गरगहना पनि बरामद भएका छन्।
यसैगरी हिराजस्तो देखिने औँठी, पुराना तथा नयाँ सिक्का, नगद ११ हजार ३९० रुपैयाँ, विभिन्न झोला तथा पर्स, सुनका बिल, पावर बैंक, स्पिकर, एयरपड र विभिन्न कम्पनीका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। चोरीमा प्रयोग भएको कैँची, पेचकस, रेन्ची, पिलास र चक्कुसहितका औजार पनि प्रहरीले बरामद गरेको छ।
प क्राउ परेका महर्जनविरुद्ध चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए। प्रहरीले बरामद गरिएका गरगहनाको वास्तविक धातु र मूल्य यकिन गर्न थप परीक्षण भइरहेको मिश्रको भनाई छ ।