काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने काठमाडौं सोह्रखुट्टेका मोहमद फाजिल र काठमाडौं दक्षिणकालीका शालोम सादा लेप्चा जैसी गाँजा, केक र कुकिजसहित पक्राउ परे । भारतीय नागरिक किम्रो साङ्गी अवैध लागूऔषध कोकिन १ किलो ९७३ ग्रामसहित पक्राउ परिन् । धादिङ कोईली खर्कका कान्छा तामाङ र भिम बहादुर तामाङ लागूऔषध चरेश २५ केजीसहित पक्राउ परे ।
मोहमद, शालोम, किम्रो, कान्छा र भिम बहादुर प्रतिनिधि पात्र मात्रै हुन् । लागूऔषध दुर्व्यसन र अवैध कारोबारमा संलग्न भई पक्राउ पर्ने उनीहरू जस्तै अभियुक्तहरूको सूची लामो छ । गाँजा, चरेश, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको प्रमुख कारण प्रहरी सक्रियता, प्रभावकारी अभियान र नागरिकसँगको सहकार्य नै हो ।
विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढ्नाले सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ । यसैले विद्यमान कानुनको कार्यान्वयन गर्दै नेपाल प्रहरी लागूऔषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न सक्रिय छ । अनुसन्धान, संलग्नलाई पक्राउ तथा कानुनी कारवाही गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल भन्छन्, ‘लागूऔषधको प्रकोपबाट धेरै युवाहरू कूलतमा फसेर आफ्नो उर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनको साथै सरकारको एकल पहल मात्र नभई सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ ।'
देशभर चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागूऔषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १ सय ४४ जना नेपाली महिला, १ सय ३३ जना विदेशी पुरूष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्धा दर्ता भएका छन् ।
पक्राउ परेकाहरू गाँजा, चरेश, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागूऔषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका छन् । उनीहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेश ३ सय ८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन ३ केजी र पोल्याण्ड ३ सय २६ ग्राम प्रहरीले बरामद गरेको छ । यसैगरी डाईजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७ सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद भएको छ ।
यस आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा मधेश प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेश बरामद भएको छ । साथै कोशी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट १ केजी कोकिन बरामद भएको छ ।
लागूऔषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ । राष्ट्रिय रुपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठूलो नोक्सान हुने तथा उर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको हुन्छ । प्रहरी नायव महानिरीक्षक ढकालले भने, “लागूऔषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिहरुले अर्थोपार्जनको उद्देश्यले लागूऔषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ । सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय प्रहरी सक्रियताका कारण धेरै ठूलो संख्यामा अपराधी पक्राउ परेका हुन् । प्रहरी जाँच, कानुनी कारवाहीमा कडाई, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् ।”
परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ । युवावर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ । नेपाल प्रहरीले लागूऔषध प्रयोग र कारोबार हुने ठाउँको पहिचान गरी त्यस्ता ठाउँमा कारवाही तीव्र पारेको छ ।
जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरीको साथै अन्य सरकारी तथा गैरसरकारी संघ संस्था, सरोकारवाला निकाय र आम नागरिक मिलेर सक्रिय हुँदै कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा थप सफलता मिल्छ ।